- भुषणमणि गौतम
प्रिय सरकार नमस्कार
म
सू्र्य बहादुर तामाङ
सन्चै हुनुहुन्छ होला तर म चै मरिसकेँ।
पढ्या भा पो पत्र लेख्न आउनु
तर जनआन्दोलन २ मा मृत्यु भई हाल यहिँ स्वर्गमा रहेका भाईले
कोरिदिए मेरो यो मृत्युको कथा
सरकार ……….
धेरै दिनदेखिको पेट भोको भएपनि
भोकाईसकेका थिएनन् जिउने बिश्वासहरु
नाम्लोले कसेर राखेको थिएँ सास
आज फुत्कियो म बाट
रहयो केवल हातमा एउटा नाम्लो
र रहयो…
यो हजारौँ ठाउँ टालिएका कपडाले ठाउँठाउँ ढाकिएको
यो लमतन्न बिना स्वासको शरिर
ए सरकार ….
मलाई पटक्कै लागेको थिएन
लकडाउन लागेको दिन म कुनै दिन भोकभोकै मर्छु भनेर
मलाई पटक्कै लागेको थिएन
बिना छत रात बिताउँनु पर्ला भनेर
र पटक्कै लागेको थिएन
म यति छिटै कम्जोर भई मर्छु भनेर
किनकी,
मैले सुनेको थिएँ हाम्रा प्रधानमन्त्रीले भनेको
‘कि देशमा कोहि भोकै मर्ने छैनन्’ भनेर
अनि लागेको थियो यो सरकार मजदुरहरुको हो
तर आज हेर्नुहोस् न म मरेँ
बेवारिसे भै मरेँ
सडक पेटिमा……..
मर्नु अघि मलाई झलझलि याद आएको थियो
मेरो प्यारो गाउँ धादिङको
जुन ठाउँ छाडेर पेट पाल्न म यो शहर आएको थिएँ
मर्नु अघि…
ए मलाई हस्पिटल लगिदेओ न भनेर कराएँ
आवाज निस्किएनछन् क्यार
कोहि आएनन्
ए सरकार …..
म मर्नु अघि मैले मलाई नै सम्झिएँ
मेरा मजदुर साथीहरु सम्झिएँ
र सम्झिएँ मेरो नाम्लो
जसलाई छातिमा चेपेर म धेरै बेर रोएँ
कि आजबाट मेरो नाम्लो टुहुरो हुँदैछ
अनि २/३ सर्को सास रहनु अघि
कसेर समातेँ नाम्लो र भने
‘प्रिय नाम्लो म तिम्लाई छाडेर जाँदैछु
आज उप्रान्त…
तिमीले भने म जसरी भोकभोकै सडक पेटिमा मर्नु नपरोस्।’
ए सरकार
म त मरेँ
फर्किन्न अब
तर बिडम्बना ….
म जस्तै मेरा हजारौँ मजदुर साथीहरु
सडकमा भोकभोकै छन्
उनीहरुका परिवार भोकभोकै छन्
बालबच्चा भोकभोकै छन्
बस!!!! उनीहरु नमरुन् भोकाएर
रोग त के हो र एकदिन हराएर जान्छ
तर सरकार
यो भोक ….कस्तो खतरनाक र डरलाग्दो रोग रहेछ
मलाई लग्यो
अझै कति हजारलाई लाने हो मेरो देशबाट
सरकार……
कति हजार म जस्ता सुर्यबहादुरहरु मरेपछि
बन्छ यसको भोकै नलाग्ने भ्याक्सिन
भनिदेउ ….आजै भनिदेउ
मिल्छ भने कि त सहजै भोकले मर्नु अघि मार्ने भ्याक्सिन बनाउ
कि त भोक रोगको भ्याक्सिन बनाउँ।
जुन सजिलोसँग बन्छ त्यहि बनाउ तर……
अर्को चुनाव आउनु अघि
भुषण गौतम
सूर्योदय नगरपालिका – ८ , इलाम
हाल: काँडाघारी, काठमाडौं