राष्ट्रपतिमा विद्याको दोस्रो इनिङ

काठमाडौं : विद्यादेवी भण्डारी पुनः राष्ट्रपति निर्वाचित भएकी छन्। लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणा भएपछि निर्वाचित हुने पहिलो राष्ट्रपति भण्डारी पुनः मुलुकको सर्वोच्च पदमा निर्वाचित भएकी हुन्। जम्मा मतको दुई तिहाइ भन्दा बढी मतसहित भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

संघीय गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित हुने क्रममा उनले ३९ हजार २७५ मत प्राप्त गरिन् । उनकी निकटतम् प्रतिस्पर्धी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत ल्याउन सफल भइन् । उनी २०७२ साल कात्तिक ११ गते (इस्वी सम्बत् २०१५ अक्टोबर २८) मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएकी थिइन्।

भण्डारीको राजनीतिक यात्रा

भण्डारीको जन्म २०१८ साल असार ५ गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको मानेभन्ज्याङ गाउँमा भएको थियो। आमा मिथिला पाण्डे र बुबा स्व. रामबहादुर पाण्डेका पाँच छोराछोरीमा उनी जेष्ठ सन्तान हुनु। सामान्य किसान परिवारमा जन्मेर राष्ट्रपतिजस्तो गरिमामय जिम्मेवारीमा पुग्न सफल भण्डारीले विद्यालय र कलेजको शिक्षा क्रमशः भोजपुर र मोरङमा आर्जन गरेकी थिइन्।

भोजपुर क्याम्पसमा अध्ययनरत उनी निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था विरोधी लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागी भइन्। त्यस क्रममा उनले ८ वर्षसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को पूर्वी क्षेत्र- सङ्गठनको नेतृत्वमा रहिन्। यसै अवधिमा उनी विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कोषाध्यक्ष पदमा निर्वाचित भइन्।
भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा अध्ययन गर्ने क्रममै उनी नेपालको कम्युनिष्ट आन्दोलनप्रति आकर्षित भएकी थिइन्।

२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को स्थापनालगत्तै त्यस पार्टीको युथ लिगको कार्यकर्ताको रूपमा उनको सङ्गठित राजनीतिक जीवनको आरम्भ भयो र एक वर्षपछि उनले उक्त पार्टीको सदस्यता प्राप्त गरिन्।

उनी २०३७ सालमा नेकपा (माले) निकट अखिल नेपाल महिला सङ्घको सदस्य बनिन्। महिला सङ्घमा आवद्ध भएदेखि नै उनले नेपाली महिलाहरूले भोग्नुपरेका उत्पीडनका विरुद्ध निरन्तर आवाज उठाइरहिन्।

यसरी उनको राजनीतिक जीवन विद्यार्थी आन्दोलनको अग्रणी, महिला अधिकारको सक्रिय अभियन्ता र लोकतन्त्रका निम्ति सङ्घर्षरत पार्टीको प्रतिवद्ध कार्यकर्ताका रूपमा तीनवटा आयाममा सँगसँगै अगाडि बढ्यो।
२०३९ सालमा उनको विवाह कम्युनिष्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग भयो। तर नेता मदन भण्डारीको २०५० साल जेठ ३ गतेको एक रहस्यमय सडक दुर्घटनामा दुखद निधन भएसँगै उनको दाम्पत्य जीवन ११ वर्षको छोटो समयमै समाप्त भयो। पतिको दुखद अवसानपश्चात् नाबालक नै रहेका छोरीहरू उषाकिरण र निशा कुसुमको लालन-पालनको साथसाथै थप राजनीतिक जिम्मेवारी उनले लिइन्।

२०५४ माघमा सम्पन्न नेकपा एमालेको छैटौं राष्ट्रिय महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइन्। त्यसयता लगातार उनले पार्टीको नीतिनिर्माणको तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिन्।
२०५९ सालमा सम्पन्न सातौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा पुनः निर्वाचित हुँदै उनी २०६५ सालमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भइन्। २०७१ सालमा आयोजित नवौं राष्ट्रिय महाधिवेशनमा उनी पुनः पार्टीको केन्द्रीय उपाध्यक्ष तथा स्थायी कमिटी सदस्यमा निर्वाचित भइन्।

संसदीय निर्वाचनमा पनि उनको परिचय लोकप्रिय र सफल नेताको रूपमा रहेको छ। संसदीय निर्वाचनमा उनको सहभागिता पति मदन भण्डारीको निधनपछि रिक्त पदका लागि गरिएको २०५० सालको उपनिर्वाचनसँगै सुरु भयो। सो उपनिर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचित भइन्। २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचन गरी उनी काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रबाट तीन पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजयी भइन्।

२०५५ सालमा उनी अखिल नेपाल महिला सङ्घको अध्यक्षमा निर्वाचित भइन्। त्यसयता उनी लगातार तीन पटकसम्म उक्त सङ्गठनको अध्यक्ष निर्वाचित भइन्।

२०६२/ ६३ को आन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभामा प्रस्तुत गरिएको राज्यका हरेक अङ्गमा न्यूनतम ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने विशेष प्रस्तावको प्रस्तावक भण्डारी नै थिइन्। संसदले उक्त प्रस्तावलाई सर्वसम्मत ढङ्गले पारित गर्दै सरकारलाई यसको कार्यान्वयनका लागि विशेष निर्देशन दिएको थियो। सोही प्रस्ताव अनुरूपको विधेयक तयार गर्ने प्रक्रियामा समेत उनको अहम् भूमिका रहेको थियो।

२०७२ असोज ३ गते संविधानसभाबाट पारित नेपालको संविधानले राजनीतिक प्रतिनिधित्व र सरकारी सेवामा महिलाको न्यूनतम ३३ प्रतिशत सुनिश्चित गरेको छ। यस व्यवस्थासँगै नेपाली महिलाहरूले युगान्तकारी संवैधानिक-कानुनी उपलव्धि हासिल गरेका हुन् र महिला सहभागिताका दृष्टिले नेपाल विश्वमा उदाहरणीय बन्नपुगेको हो। नेपाली महिलाहरूले प्राप्त गरेको यस सफलतामा वर्तमान राष्ट्रपतिको उल्लेखनीय योगदान रहेको यथार्थ नेपाली समाजमा स्थापित छ।

२०५४ सालमा वातावरण तथा जनसङ्ख्या मन्त्रीका रूपमा उनले पहिलो कार्यकारी भूमिका निर्वाह गरेकी थिइन्। उनले २०६६ सालमा रक्षामन्त्रीको जिम्मेवारी सम्हालिन्। रक्षामन्त्रालयको पदभार सम्हाल्ने उनी नेपालकै पहिलो महिला हुन्।

रक्षामन्त्रीका हैसियतले त्यस अवधिमा उनले नेपाली सेनामा पूर्व माओवादी-लडाकुहरूको समायोजन र राष्ट्रिय सुरक्षानीतिको तर्जुमा गर्ने जस्ता महत्वपूर्ण दायित्व कुशलतापूर्वक सम्पादन गरेकी थिइन्।

संविधानसभा सदस्य र संविधानसँग सम्बन्धित जटिल विवादहरूलाई निष्कर्षमा पुर्या्उने महत्वपूर्ण वार्तामा सक्रिय सहभागीका हैसियतले नेपालको संविधानको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारी पहिलोपटक राष्ट्रपतिमा निर्वाचित हुनु अगाडिसम्म नेकपा एमालेका उपाध्यक्ष, अखिल नेपाल महिला सङ्घका अध्यक्ष र व्यवस्थापिका-संसद सदस्यको जिम्मेवारीमा थिइन्।

सिफारिस

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवामा व्याप्त राजनीतिक पहुँच, भनसुन, सरुवामा हुने चलखेल र सेवाप्रवाहमा हुने...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a better education or earning more money. Perhaps it is about wanting a life where hard...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

भर्खरै

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

धेरै पढिएको