काठमाडौँ- आइतबार राति वीरगन्जस्थित नारायणी अस्पतालबाट एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जनाए ।
डिस्चार्ज हुनेमा ४ महिने शिशुदेखि लिएर ६२ वर्षकी वृद्ध महिलासम्म छन् । डिस्चार्ज हुनेमा ७ महिला र ११ पुरुष रहेको अस्प्तालका फिजिसियन डा. उदयनारायण सिंहले जनाए । उनीहरु वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वासिन्दा हुन् । आइतबार राति करिब ११ बजे उनीहरुलाई डिस्चार्ज गरिएको थियो ।
योसँगै पर्सामा मात्रै निको हुनेको संख्या २५ पुगेको छ भने देशभर निको हुनेको संख्या १०५ पुगेको छ । हालसम्म नेपालमा ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके, सिन्धुपाल्चोक र गुल्मीका एक/एक गरी हालसम्म तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।