- जगन्नाथ शर्मा
प्रिय छोरा,
सन्चैँ होला । धेरै भयो नभेटेको र कुरा नभएको । म धेरै हण्डर र ठक्कर खाँएर तिम्रै समित अर्थात गाउँको छेउ आइपुगेको छु । थाहा छैन, सन्चैँ छु, या बेसँन्चो। अहिलेसम्म खासै भरपर्दो जाँचपड्ताल भएको छैन् । धेरै मान्छेहरुको भिड छिचोल्दै, कतिदिन भोक, तिर्खा र निन्द्राको पर्वाह नगरी, दुई देशको सिमामा अस्हय बेदनाले छट्पटिदाको कथा ब्यथा तिमीलाई मैले सुनाउन चाँहिन । त्याँहा तिम्रो बाबु कसैको लागि मान्छे भएन् । मान्छेले मान्छेलाई गर्ने व्यवहार भएन । नेपाली भएर बाँच्ने मेरो सपना झन्डै समाप्त परेको क्षण म कसोरी तिमीलाई भनुंँ ? धन्न दैबको दयाले बाँचियो र स्वर्ग जस्तै प्यारो मेरो देश नेपाल टेक्न पाइयो ।
नेपालमा छिरेपछि नेपालीहरुको हामीलाई हेर्ने आँखा पहिलेको जस्ता सरल र सोझा थिएनन् । टेढो नजर र निन्दनिय व्यवहारको चपेटामा हामी पर्यौ । छिछी र दुरदुर सहदैँ सिमामा छटपटिदा कसैले पानीसम्म दिएन । यातायातको सुविधा, भोक र निन्द्रा सोध्ने कोहि थिएन । ठुला सडकमा पैदल हिँड्दा पहिले हाम्रा गाउँंमा बाघ र भालु हिँडेको जस्तो व्यवहार भयो । सबै डराउथे हामीसँंग । म मात्र भएको भए सायद बहुला भन्थे होला । अरु पनि थिएर पो । हामीलाई गर्ने व्यवहार बहुलालाई जस्तै थियो । धन्न, बहुलाहसम्म चाँहि भनेको सुन्नु परेन ।
नेपालमा काम नपाएपछि बहादुर बन्नका लागि मुग्लान लागेको कुरा तिमिलाई थाहै छ । स्वदेशमै रोजगारी पाएको भए मुग्लानमा आधामासु भएर को जान्थ्यो ? । त्यहि पापी पेट पाल्नका लागि विकल्प नभएपछि सबै कष्ट सहेर अर्काको देशमा बहादुर बन्न गइयो । अहिले बहादुरको हालत यस्तो भएको छ । बहादुर हुन नसकेकाहरुको पिडा कस्तो होला ? ।
मुग्लानमा कोरोनाको डरले दुइ महिनासम्म भित्रै बसियो । मालिकको मुख देखिएन । डेरामा भएको अन्न सकियो । गोजिमा भएको पैसा सकियो । थोरै पैसा बाँकी रहेको बेलामा अबका दिन कटाउन सकिदैन भन्ने लाग्यो । चिनेका कोहि थिएनन् । नेपालमा जस्तो उधारो चल्दैनथ्यो । त्यसैले फोनबाट साथीहरुसंग सल्लाह गरेर नेपाल फर्किने कुरा गरेर हिड्यौं । कोरोना दिन दोगुना रात चारगुना भएको बेला निस्कीएका हामीलाई कस्ले भेट्ला र सार्ला भन्ने डर थियो तर पनि नहिडी भएको थिएन । डर मानि मानि जोगीदै जोगिदै यात्रा गरेर सिमामा आइयो । सिमामा आफ्नै देशका पोसाकधारी सुरक्षाकर्मी देखेर मनै ढक्क भयो । खुसीले । गर्वले ।
मैले त्यसबेला नेपालका आफ्ना पाखा टाढैबाट नियालेँ कस्तो शान्त , प्रकृति । मेरो गाउँ पुग्ने रहर चुलिएर आयो । पैतालादेखि शिरसम्म एक प्रकारको करेन्ट प्रदा भयो । जाँगरले हौसीएर म सिमा काट्ने तरखर गर्दै गर्दा ढाँट तेस्र्याइयो । रोकिएँ । थला पर्ने गरी लौरो खाएँ । देशले रोजगारी नदिएर अर्काको देशमा भतुवा बन्न गएको म, मेरै देशमा फर्कनका लागि कुटिनु पर्दाको पिडा म कसोरी भनुँ तिमीलाई मेरो छोरा !
कोरोना फैलिएपछि अरु देशले आफ्ना नागरिक जहाजमा लगेको मैले पनि नसुनेको हैन । धनि देशले जहाजमा आफ्ना नागरिक लगे । मलाई लागेको थियो , हाम्रो मुलुक गरिव छ, हामीलाई गाडिमा भएपनि जम्मा गरेर फर्काउला । तर अफसोच ! सरकारले त्यसो त गरेन गरेन । पैतालामा फोका उठाएर सडक यात्रा गर्दै देशको सिमामा आउदा हामीलाई पशुको व्यवहार ग¥यो । धन्य मेरो सरकार, मारीचाँहि हालेन, प्राण पखेंरु बाँकी नै छ ।
सिमाबाट जसोतसो कटेका हामी छिछी र दुरदुर गर्दै पैदल यात्रा गरेर पहाड उक्कियौं । बाटोमा खाने वस्ने ठाउँ छैन । विहान कता कति पसल खोलेको भएपनि हामीलाई सहजै सामान दिदैनथे । कोहि कोहि मनकारी पनि भेटिए , चाउचाउ विस्कुट र पानी परै राखिदिए । हामीले हिड्दै त्यहि मुक्याउदै ज्यान बचाउन पायौं । चौतारो भेटे , नभेटे सडक छेउमै चारपहर रात कटायौं । सकुन्जेल त राति नै हिड्यौं ।
घरै छेउ आईपुग्दा जनप्रतिनिधि र प्रहरीले हामीलाई केरकार गरे । हामीले ढाँटेनौं । भएको सवैकुराको बेलिबिस्तार विवरण दिएपछि हामीलाई क्वारेन्टाइनमा ल्याइएको छ । बत्तिको उज्यालोमा यहि बसेर तिमिलाई पत्र लेख्दैछु । थकाईले भुतुक्क भएका साथीहरु क्वारेन्टाइनको कालो फम ओछ्याएर पल्टिएका छन् । क्वारेन्टाइन सुरक्षित र सुविधा होला भन्ने तिमीले सोचेँका होला । तर यहाँ खास केहि छैन । स्कुलको डेक्स जोडेर खाट जस्तो बनाएको रहेछ । ओछ्याउनका लागि फम हालेको । त्यसमाथि अरु केहि छैन । तन्ना, सिरानी र कम्बल राखिएका छन् । कोठाभरी लामखुट्टेले संगित वजाईरहेको छ । साथिहरुका पिडुँलामा कालै देख्छु, । तर उनीहरुले थाहा पाइरहेका छैनन् । थकाईको अघि लामखुट्टेको टोकाई सामान्य नै भएको होला सायद ।
यहाँ प्रयाप्त खानेपानीको सुविधा छैन । शौचालयको कुरै नगरौं । दाल भात खुवाउने मेलो क्वारेन्टाइनमा छैन् । नियमित खाने औषधिको मेलोमेसो पनि छैन् । हामीलाई सुरक्षित राख्नका लागि बनाएको क्वारेन्टाइनमा एकै कोठामा चार भन्दा बढी बेड छन् । यदि कोहि संक्रमित नै भएको रहेछ भने यहिँबाट कोरोना आउला भन्ने डर भित्रै बस्नेको मनमा नभएको हैन ।
पहिले मान्छेहरु जेल जान डराउथे । जेल भनेको यातना गृह थिए । हातमा हतकडि र खुट्टामा नेल लगाएरै जेलमा राखिन्थ्यो । जेल गएका मान्छेहरु पापी र अधर्मी हुन्थे । कसैले भेट्न चाहदैनथे । अहिलेका पुस्ता तिमीहरुले त्यस्तो जेल देखेका छ्रैनौं । जेलघरहरु सुधार गृह भएका छन् । जेलमा खाटमा सुत्न पाईन्छ । औषधि उपचार पाईन्छ । खेल सामाग्री र पुस्तक पाईन्छ । जेल जीवन सहज भएर आएको छ ।
क्वारेन्टाइनमा बसेपछि मैले पहिलेको जेल सम्झेको छु । अपराधी मान्छेलाई हुल्ने एक प्रकारको खोर । अहिले मान्छेले मान्छेलाई मान्छेको व्यवहार नगर्ने थलोको रुपमा मैले क्वारेन्टाइनलाई पाएँ । न कोहि भेट्ने, न कोहि सुविधाका बारेमा सोध्ने, न कोहि खाना र औषधिको बारेमा बुझ्ने, अनि न कोहि अरु सुविधाको लागि बुझ्ने । यहाँ कोहि आउदैनन् । त्यसैले जेल जस्तो यातना सहेर बसेका छौं अहिले । झन बाहिरका मान्छेहरु क्वारेन्टाइनमा हामीलाई ल्याएर राखेको छ रे भनेर सुन्ने वित्तिकै तर्सेका छन् । सुरक्षित हुनु स्वभाविकै हो । तर क्वारेन्टाइनमा वस्ने सवैलाई कोरोना नै छ जस्तो व्यवहार गर्नु चाँहि अलि दुख्खदायि कुरा जस्तो लागेको छ । मैले दुख्ख मानेर के गर्नु छोरा ! सुनेको थिए, कतिपय स्थानमा त यहि क्वारेन्टाइन र आइसुलेसन राख्ने ठाउँ पनि दिएनन् रे । विरोध भयो रे । कतिसम्मको सामाजिक उत्तरदायित्व, कतिसम्म सामाजिक भावना हाम्रो समाजमा है । कोहि मरुनसंग स्वार्थी समाजलाई के चासो ? ।
क्वारेन्टाइनमा के सुविधा हुनुपर्ने ? भन्ने विषयमा सायद जिल्ला तिर केहि सल्लाह नभएको मैलेँ बुझेँ । म बसेको मात्र हैन, अरु क्वारेन्टाइनमा पनि यस्तै त होला ? जिल्लाले क्वारेन्टाइनमा न्यूनतम सुविधा निर्धारण गरेको भए यस्तो दुर्दशा हुने थिएन होला जस्तो मलाई लागेको छ । हुन त जिल्लाका बडाहरुलाई यति कुरा जोडजाम गर्नका लागि पनि धेरै सास्ती भोग्नु परेको होला । यहि क्वारेन्टाइनको फोटो बिस ठाउँमा पोस्टाइसकेका होलान । हुन्देऊ त्यता तिर पनि नजाऊ । आलोचना गर्ने बाँनी बस्छ । आलोचनाले मान्छेलाई पशुजस्तो ह्रिसक बनाउन सहयोग गर्छ । मान्छे भएर सहि सल्लाह सुझाव दिन सक्नुपर्छ । क्वारेन्टाइन निरीक्षणका लागि बडाहाकीमहरु आए र उनिहरु हामीसंग डराएनन् भने मैले सुविधाको बारेमा केहि कुरा टिपाउने विचार गरेको छुँ । हेरौं के हुन्छ ।
मैले बुझेको क्वारेन्टाइन शंकास्पद क्षेत्रबाट आएको व्यक्तिलाई राख्ने थलो हो । विरामी राख्ने या उपचार गर्ने थलो हैन । यहाँ बस्ने संक्रमित हुन पनि नहुन पनि सक्छन् । सरकारबाट क्वारेन्टाइनमा राख्नेलाई पिसीआर परिक्षण गर्ने व्यवस्था भयो भने अपहेलित भएर बसीरहनु पर्दैनथ्यो जस्तो लाग्छ । क्वारेन्टाइनको रखाई अव्यवस्थित भएकाले यदि यहिँ कोहिसंग संक्रमण भए अर्कोलाई सर्ने संभावना अधिक छ, त्यो चाँहि डरमर्नु भएको छ । कतै यहिँ पो सर्ने हो कि ? ।
क्वारेन्टाईन व्यवस्थापन गर्नका लागि प्रदेश सरकार र स्थानीय सरकारले बजेट व्यवस्था गरेको मैले यहिँ आएर सुनेँ । अनि हेरें यहाँको क्वारेन्टाइन । बजेट खर्च भएको भान भएन् । अझै गर्न बाँकीनै पो छ कि ? आशा गरेको छु । म निस्कीएपनि अव आउनेले राम्रो , सुरक्षित र व्यवस्थित क्वारेन्टाइनमा वस्न पाउन् । मान्छेको व्यवहार पाउन् । क्वारेन्टाइनमा वस्न जाने वित्तिकै सद्धे भएपनि मानसिक पिडाबोध गर्नेे मान्छेले फेरी व्यवहार पनि सहयोगी पाएन भने कुनैपनि दिन कोरोनाको साटो अर्को रोग थपेर निस्कने खतरा मैले देखेको छु । भगबान ! कोहिपनि यहाँ बस्दा नबहुलाउन ।
प्रिय छोरा, शताब्दीपछि विश्वलाई नै त्राहि त्राहि बनाउने गरी महामारीको रुपमा फैलिएको कोरोना कतिन्जेल सम्म रहला ? त्यसको कुनै टुंगो छैन । मरेका र विरामीको संख्या तिमीले सुनेकै छौं । नेपालमा कोरोना फैलिएमा अस्पतालको क्षमता कति र कस्तो छ भन्ने कुरा मैले तिमीलाई भनीरहनु पर्दैन । काठमाण्डौंको नाम चलेको एक अस्पतालले आफ्नो कर्मचारी अर्को अस्पतालमा पठाएको सुनेकैं हौंला । सुविधा नभएका देशमा बसेका हाम्रा अस्पताल पनि यस्तै क्वारेन्टाइन जस्तै त होलान नि ! त्यसैले रोग भित्रीए पछि को बाँच्ने र को मर्ने कुनै ठेगान होला जस्तो मलाई लाग्दैन ।
मेरो क्वारेन्टाइन बसाई अव छोटिदै छ । तोकिएको दिन सम्म समस्या देखिएन भने म जरुर घर आउछु नै । अझै पनि मैले आफ्नो टोलमा आइपुग्दा फेरी छिछी र दुरदुर पक्कै सहनु पर्नेछ । धेरै मान्छेहरु मलाइ देखाउदै कुरा काट्ने छन् । हाम्रो समाज राम्रो कुरालाई पनि नराम्रो देख्ने चस्मा लगाएर जकेडिएको छ । अहिलेको चस्माले त सवैलाई कोरोना देख्नेनै भयो ।
यसअघी लाहुरबाट आउदा जिरा मसलाको पोको हुन्थ्यो । केहि लत्ताकपडा र टीनको भएपनि बाकस बोकेर आईन्थ्यो । अहिले केहि छैन् । ठुलो कुरा पैसा पनि छैन् । पैसा नल्याएको भनेर तिमी र परिवारका अरुले घृणा पो गर्ने हौं कि भन्ने पिरलो छ । आखिर समाजको एउटा अंग न हो घर परिवार पनि । त्यसले पनि आफ्नो स्वार्थ त हेर्छ नै । तर ठुलो आशा छ, अप्ठेरो परेको बेलामा तिम्रो र परिवारको घृणा खेप्नु पर्दैन् होला । त्यहि आशामा बाँचेको छु । छिट्टै भेट होला छोरा । अहिलेलाई अस्तु !
क्वारेन्टाइन कक्ष
अनामबस्ती