कोराना भाइरस (कोभिट १९) को संक्रमणले विश्व यतिबेला आक्रान्त बनेको छ । चीनको वुहान सहरबाट सुरु भएको कोभिट १९ संक्रमणले हालसम्म विश्वका २ सय १५ देशमा महामारीको लिईसकेको छ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोनना भाइरसबाट यो सामाग्री तयार पार्दा सम्म ६० लाख भन्दा धेरै संक्रमित भएका छन् भने ३ लाख १५ हजारले ज्यान गुमाइसकेका छन् । नेपालमा हाल सम्म १८ सय भन्दा बढी संक्रमित भएकोमा ८ जनाले ज्यान गुमाइसकेका छन् । केहि उपचार गरी फर्केका छन् ।
संसारलाई लकडाउनमा राखेर कोरोना भने संसारभरी नै आफ्नो पकड जमाउदै दगुरिरहेको छ । मानिसलाई घर भित्र थुनेर कोरोना मावन जगतलाई नै चुनौती दिदै कोरोना आफु भने खुलेयाम विश्व भ्रमणमा निक्लिएको छ ।
कोरोना विश्व भ्रमणका क्रममा २ सय १५ देशको भ्रमणमा पुगिसकेको छ । यसअघि विश्व भ्रमणमा पकड राख्ने मानिस भने कोरोनाकै कारण घरको चौघेरा भित्र खुम्चिन बाध्य छ । चीनको वुहान सहरबाट सुरु भएको कोरोनाको यात्रा २०७६ को माघमा नेपाल प्रवेश गरेको थियो । निरन्तर एक व्यक्तिबाट अर्काे , एक सहरबाट अर्काे सहर , एक देशबाट अर्काे देश गर्देै संसारका सबै कुना काप्चामा कोरोना पुगिसकेको छ । यसरी संसार भ्रमणमा दगुरेको कोरानाको यात्रा कहाँ, कहिले टुङ्गिन्छ भन्ने कुराको ठेगान अहिलेसम्म कसैले खुट्याउन समेत सकेका छैनन् ।
कोरोनाले नेपालमा प्रवेश पाएसँगै पुरै देश चैत ११ देखि लकडाउनमा छ । सरकारले जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरीसकेको छ । कोरोनाबाट बच्नका लागि गरिएको लकडानले कोरोनाबाट त बचाउन सघाउला तर मानसिक रोगले भने गाँझ्ने पक्का भएको छ । सरकारले पुर्व तयारी नै नगरि चैत्रमा सुरु गरिएको लकडाउनको ३ महिना पुग्न लाग्दा समेत निरन्तरता पाएको छ । यसरी लामो समयको लकडाउनले मानिसमा के कस्ता समस्या देखा पर्न सक्छन् ? लकडाउनको समयमा के कस्ता काम गर्न सकिन्छ ? कोरोनाबाट बच्ने अन्य उपाय केके हुन सक्छन् ? जस्ता विषयमा सरकारको ध्यान पुग्न सकेन । सकेको छैन । लामो समय लकडाउनमा बस्नु पर्दा मानव जीवनमा भने विभिन्न किसिमको प्रभाव देखा पर्न लागेको छ ।
नेपालको परिपक्षमा कुरा गर्दा लकडाउनले अधिकांश दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुको मुख मोसिएको छ । दैनिक रोजगारी गर्ने मजदुरको गुजारा कसरी चलेको होला ? वैदेशिक रोजगारीमा जानेहरुको कतिलाई कामबाट निकालिएको छ , कतिलाई घर फर्काइएको छ । पेशा ब्यवसाय गर्नेहरुको पनि आम्दानी ठप्प छ । कृषिमा भएकाहरुको खान पुग्ने गरि उत्पादन हुदैन । यस्ता समस्याहरु झन–झन थपिदै छ । आवश्यकता अनगिन्ति छन् तर काम छैन् । कमाइ छैन् । आवश्यकता पुरा गर्ने कुनै विकल्प पनि छैन् । लकडाउनका कारण सबै काम छाडेर घरभित्र सिमित हुनुपर्दाको सकस , आर्थिक अभावले निम्त्याएको आवश्यकता र बेकामी बस्दाको छटपटाहट जस्ता कुराले विस्तारै मानसिक समस्याको रुप लिन थालेको छ ।
कोरोनाको प्रभाव बढ्दो क्रममा छ । दिनानु दिन भोकले सताइरहेको छ । कामको सिलसिलामा घरबाहिर रहेकाहरु पनि घर फर्कीएका छन् । घरमा जोहो गरेर राखिएको अन्न सकिएको छ । ज्याला मजदुरी गरेर खानेहरुको मजदुरी गुमेको छ । घरभित्रको सिमितता, आर्थिक अभाव ,भोकको चिन्ता, रोजगारीको अनिश्चितता लगायतको तनावले मानिसमा नकारात्मक सोचको विकास भएको देखिन्छ । दिनानु दिन बढ्दै जाने कोरोनाको प्रकोप र लम्बिदै जाने लकडाउनले मानिसमा मानसिक समस्या देखा पर्न थालेको छ । कतै कोरोनाबाट बच्नको लागि लगाइएको लकडाउनले मानसिक समस्या निम्त्याउने त होइन ? यदाकदा लकडाउनैबीच गलत गतिविधि तथा अपराधिक क्रियाकलाप भैरहेको सुनिन्छ । त्यतिमात्र होइन क्वारेन्टिनमा बसेकाहरु भाग्ने , मुख छाड्ने , झगडा गर्ने र आत्माहत्या गर्नेसम्मको तहमा पुगेका छन् । क्वारेन्टाईन र आइसुलेसन वार्डमा बस्नेहरुका लागि मनोमरापर्शको अति आवश्यकता छ । प्रत्येक पालिकाले त्यस सम्बन्धि तत्काल व्यवस्था गर्न सके उनीहरुमा मानसिक बिचलन आउनबाट रोक्न सहज हुनेछ ।
विना योजना लगातार लगाइएको लकडाउनले निम्त्याएको समस्याका विषयमा सोच्न अब ढिलाई गर्नु हुदैन । एउटा रोगबाट बच्न अपनाइएको उपायले अरु रोग निम्त्याउन सक्छ भन्ने कुरामा हाम्रो ध्यान जान जरुरी छ । आजको गतिविधिले भोलीलाई के कस्तो प्रभाव पार्न सक्छ ? भनेर शूक्ष्म अध्ययनको आवश्यकता अड्कारो रुपमा देखिएको छ । अहिले हामी लगाम लगाएको घोडा जस्तो भएका छौ । लकडाउन भन्दा बाहेक अरु कुरामा हाम्रो ध्यान जान सकेको छैन् । आज गरिएको अव्यबस्थित र अव्यवहारिक लकडाउनले भोली मानसिक समस्याले गाँझ्ने मौका पाउन सक्छ । त्यसैले यो विषयमा अब सम्बन्धित निकायले सोच्नु पर्छ । के कोरोनाबाट बच्न लकडाउनको विकल्प छैन ? कहिलेसम्म लकडाउनमा बस्ने ? लकडाउनले निम्त्याएको समस्या समाधान गर्न सक्ने सामर्थ्य हामीसँग छ ? यस्ता विषयमा लेखाजोखा सुरु गर्नु पर्छ ।