काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाहले जिउ मर्काएर जितेको टिप्पणी गरेका छन्। शाहको र्याप र विषयवस्तुले मानिसलाई आकर्षित गरेको उनको भनाइ छ।
‘यहाँ हेर्नुस् त एउटा, नाचेरै, जिउ मर्काएरै बालेनले जितिहाले’, आइतबार पार्टीनिकट महिला संघको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘र्याप म्युजिक मात्रै होइन, उनले विषयवस्तु पनि अगाडि सारे। काठमाडौंको समस्या के छ, त्यो पनि अगाडि उठाए। र्यापले पनि तान्यो, विषयवस्तुले पनि तान्यो।’
अध्यक्ष नेपालले संगठन विस्तारका लागि काम गर्नुपर्ने र त्यसको प्रचार पनि गर्नुपर्ने बताए। ‘कामचाहिँ गर्नुहुन्छ तर प्रचार नै छैन। कसैले थाहै पाउँदैन। कोही काम कम गर्छन्। प्रचार मात्रै ज्यादा गर्छन्। यो सन्तुलन नै मिल्दैन। काम पनि धेरै गर्नुपर्छ। प्रचार पनि धेरै गर्नुपर्छ। त्यसपछि जनताले थाहा पाउँछन्। यसरी प्रचार हुँदै जान्छ। संगठन स्थापित हुँदै जान्छ र बलियो हुन्छ। सबै मान्छे आकर्षिक हुन्छन्’, उनले भने।
अध्यक्ष नेपालले आफूहरुले बालेन तथा हर्क साम्पाङबाट सिक्नुपर्ने बताए। आफू र विरोधीहरुबाट पनि सिक्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘स्वतन्त्र उम्मेदवारहरुबाट पनि सिक्नुपर्यो। अहिले स्वतन्त्रकै जमाना छ भनेर फेरि एउटा लहर चल्दै छ। तर, स्वतन्त्रले हुँदोरहनेछ। विस्तारै अनुभूति हुँदै जान्छ। कामले हुन्छ। इमानदारिताले हुन्छ। लगनशीलताले हुन्छ। इमानदारिता चाहिन्छ। दृष्टिकोण चाहिन्छ। लगनशीलता चाहिन्छ। अनि बल्ल परिणाम प्राप्त हुन्छ।’
त्यस्तै, अध्यक्ष नेपालले सत्ता गठबन्धनसँग आफ्नो संघर्ष र एकता हुने बताएका छन्। उनले यसको विकल्प नखोज्ने र गठबन्धन सरकारलाई निरन्तरता दिने बताएका हुन्।
उनले भने, ‘दक्षिणपन्थी, राष्ट्रिय आत्मसमर्पणवाद र बिसर्जनवादसँग लड्न गठबन्धन बनाएको हौं। बिसर्जन होइन, आत्मसमर्पण होइन, देशभक्त र लोकतान्त्रिक विधि अवलम्बन गर्ने सबैलाई समेटेर अघि बढ्ने क्रममा गठबन्धन बनेको हो। गठबन्धनलाई निरन्तरता दिने पक्षमा हामी रहन्छौं।’
गठबन्धनसँग सम्बन्ध भने संघर्ष र एकताको हुने बताए। उनले गलत कुरामा लड्ने र राम्रा कुरालाई समर्थन गर्दै गठबन्धमै रहेर अघि बढ्ने बताएका हुन्।
उनले एकता नि:शर्त नहुने बताउँदै थपे, ‘एकता भनेको सशर्त हुन्छ। भ्रष्टचारमा एकता हुँदैन। भ्रष्टीकरणविरुद्ध एकता हुँदैन।’ उनले कार्यकर्तालाई आफैं नमूना बनेर काम गरेर देखाउन निर्देशन दिए। पार्टी कार्यकर्ताले यसको संगठन मजबुत बनाउन राम्रा कामका साथै प्रचारात्मक काममा समेत जोड दिन निर्देशन गरे।
‘काम चाहिँ छ। प्रचारै छैन भने पनि हुँदैन,’ उनले थपे, ‘काम पनि गर्नुपर्यो। प्रचार पनि गर्नुपर्यो। प्रचारात्मक काममा जोड दिनुहोस्। प्रशिक्षणमा जोड दिनुहोस्। अभिलेखमा जोड दिनुहोस्।’
