प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले शनिबार प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन्। निर्माणाधिन विमानस्थलको अवलोकनपछि शीर्ष नेताहरूले निजगढमै अन्तर्राष्ट्रिय निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे।
निजगढनै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उपयुक्त ठाउँ रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विधि र प्रक्रिया पूरा गरेर निजगढमा २ वटा रनवे सहितको विमानस्थल बन्ने बताए। सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले कमसेकम क्षतिमा विमानस्थल निर्माणका लागि विज्ञसँग छलफल भइरहेको जानकारी दिए।
यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताए। विमानस्थल निर्माणप्रति सरकारले देखाएको चासोलाई आफूले सकारात्मक रूपमा लिएको भन्दै प्रचण्डले सबै मिलेर राष्ट्रिय गौरवको आयोजना पूरा गर्नुपर्ने बताए।
प्रधानमन्त्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा रनवे बनाउने गरी गो अहेड भनेको स्पष्ट पार्दै प्रचण्डले अरूले पनि साथ र समर्थन गर्नुपर्ने बताए। ‘प्रधानमन्त्रीले दुईटा रनवे बनाउने गरी गो अ हेड भनिसक्नुभएको छ। हामी सबैले समर्थन गरिक्यौं, अरूले पनि गर्नुपर्छ’ उनले भने।
यो विमानस्थल समयमै निर्माणको प्रक्रिया सुरु नभए करोडौंको लगानी अलपत्र पर्ने र फास्ट ट्र्याकको औचित्य पुष्टि नहुने प्रचण्डको जिकिर थियो। ‘यदि निजगढ विमानस्थल बनाउने प्रक्रिया समयमै बनेन भने हामीले गरेको अर्बौं लगानी र फास्ट ट्र्याकको औचित्य हुनेछैन।
त्यसैले निजगढ एयरपोर्ट बन्न जरूरी छ,’ उनले भने, ‘फास्ट ट्र्याकको डिपिआर बनाउँदाखेरि नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकतालाई मध्यनजर गरेर गरिएको हो।’ उनले निजगढ विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको र नेपालको गेमचेन्जर समेत भएको दाबी गरे।
‘यो राष्ट्रिय गौरवको एक खालको ड्रिम प्रोजेक्ट पनि हो। गेम्चेन्जर भनिन्छ, देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने यो प्रोजेक्ट पनि हो। त्यस अर्थमा पहिला पनि धेरै अध्ययन छलफल गरेर नै निजगढ नै सबैभन्दा उपयुक्त छ भनिएको हो,’ उनले भने, ‘निजगढ नै उपयुक्त छ भन्ने मान्यता राखेर नै अर्बौं लगानी भइसक्यो, झन्डै तीन अर्ब त यहाँ लगानी भइ पनि सकेको छ। त्यो परिस्थितिमा राज्यले यो पहलकदमी लिएको छ त्यसलाई दृढतापूर्वक अगाडि बढाउन जरूरी छ।’
त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सर्वोच्चको आदेशले विमानस्थल निर्माणमा रोक नलगाएको स्पष्ट पारे।सर्वोच्चको पूर्ण पाठ हेर्दा वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिनेमा नेपालले जोड दिए। सर्वोच्च अदालतको फैसलाको पूर्णपाठको केही अंश पढेर सुनाउँदै उनले पूर्ण पाठ हेर्दा निजगढ विमानस्थल बन्दैन कि भनेर आत्तिनुपर्ने अवस्था अन्त्य भएको बताए।
‘सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ आइसकेको छ। र पूर्णपाठलाई हेर्दा हामी आत्तिनुपर्ने केही अवस्था रहेनछ,’ उनले भने, ‘फैसलाको निचोड हेर्दा यहाँ विमानस्थल बन्दैन कि अदालतले रोक्यो कि भन्ने खालको आशंका छ। त्यो आशंकाबाट हामी मुक्त भएका छौं। किनभने अदालतको आदेशमा हवाइ उडानलाई व्यवस्थित, भरपर्दो सुरक्षित र अन्तर्राष्ट्रिय सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक रहेको ठहर गरेको छ।’
यस्तै उनले फैसलाले विमानस्थल बनाउन विज्ञको टोलीबाट अध्ययन गराउन पनि भनेको बताए। यसरी अध्ययन गराएर वातावरणमा कम भन्दा कम क्षति पुर्याउन भनिएको उनले स्पष्ट पारे।
‘विमानस्थल बनाउन सबै क्षेत्रका विज्ञ रहेको विशेषज्ञ समूहबाट अध्ययन गराएर यहाँ कुन ठाउँको कति क्षेत्रफलको कति क्षमताको विमानस्थल बनाउनुपर्ने हो, वातावरणीय क्षति कम हुनेगरी प्राविधिक दृष्टिकोणले उपयुक्त स्थानमा विमानस्थल बनाउन भनेर आदेश आएको छ,’ उनले भने, ‘फैसलाको मूल उद्देश्य के हो भने वातावरण कमभन्दा कम क्षति होस्। यसमा संवेदनशील भएर चल्ने काम होस् भन्ने कुरा देखिन्छ।’ त्यसैगरी जसपा अध्यक्ष उपेन्द्र यादवले विमानस्थल निर्माणमा राष्ट्रिय सहमति जुट्नुपर्नेमा जोड दिए।
५०-६० वर्षपछिको अवस्थालाई मध्यनजर गर्दै विमानस्थल निर्माणको काम अघि बढाउनुपर्ने बताए। ‘कुनै पनि कुरा निर्माण गर्दा हामी आजको नहेरौं। भोलिलाई हेरेर निर्णय गरौं। कमसेकम २-३ पुस्ताको भविश्य हेरेर हामीले ठाउँ राख्नुपर्छ। अहिले २ वटा रन वे भनिएको छ। भविश्यमा चाप बढ्दै गयो भने ४ लेन हुनुपर्छ’, उनले भने,‘सकभर यहाँ रहेका पुराना बस्ती जोगाउने गरि अगाडि बढौं। त्यो जोगियोस्। भविश्य पनि हेरौं, यी सब गरेर विमानस्थल यहाँ बन्छ। यसका लागि सबैले सहयोग गर्नुपर्छ। यो बनेन भने हामीलाई नै नोक्सान हुन्छ। अझ भविश्यको पुस्ताले ठूलो नोक्सान व्यहोर्नुपर्छ।’
सर्वोच्च अदालतको पूर्ण पाठले निजगढमा विमानस्थल बन्न रोक नलगाएको निष्कर्षपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गरेका हुन्। सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाटो खुला गरेको छ।
निजगढमा विमानस्थल बनाउने गरि आजसम्म भएका सरकारी निर्णय बदर गर्नेबारे यो मुद्दा सुनुवाइ गरेको पूर्ण इजलासका पाँचै न्यायाधीशहरू सहमत भएपनि उक्त विमानस्थलको विकल्पका सम्बन्धमा भने तीनजनाको एउटा र दुईजना न्यायाधीशले अर्कै राय दिएका छन्।
