नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ। आज (आइतबार) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर राेकिएको हो।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो ।
माओवादी केन्द्र स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार अर्को बैठकको मितिबारे जानकारी गराइएको छैन।
पेरिसडाँडामा आह्वान गरिएको बैठकमा पदाधिकारी चयन र जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाउने निर्णयको औपचारिक जानकारी गराउने बताइएको थियो।
नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् ।
सोहीअनुसार शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ दिलाउने तयारी भएको माओवादी केन्द्रीय कार्यालय निकट श्रोतले जानकारी दियो । उनलाई आजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारी शपथ खुवाउनेछिन्।
