नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्स र एभरेस्ट बैंक लिमिटेडबीचको सहकार्य निरन्तर रहने भएको छ।
विगतदेखि नै विराटनगर किंग्ससँग सहकार्य गर्दै आएको एभरेस्ट बैंकले आगामी एनपीएल सिजन–३ मा पनि टोलीसँगको साझेदारीलाई निरन्तरता दिने भएको हो। विराटनगर किंग्स र एभरेस्ट बैंकबीचको सहकार्यसम्बन्धी सम्झौता विराटनगरमा एक कार्यक्रमबीच सम्पन्न भएको छ।
नेपाली क्रिकेटको विकास तथा खेलकुद क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको बैंक र विराटनगर किंग्सबीचको यो सहकार्यले नेपाली क्रिकेटमा निजी क्षेत्रको सहभागितालाई थप बलियो बनाउने विश्वास गरिएको छ।
सहकार्यलाई निरन्तरता दिएकोमा विराटनगर किंग्सले एभरेस्ट बैंकप्रति आभार व्यक्त गरेको छ। टोलीले नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउने अभियानमा कर्पोरेट क्षेत्रको साथ महत्वपूर्ण रहेको जनाएको छ।
विराटनगर किङ्सले एभरेस्ट बैंकलाई निरन्तर विश्वास, सहयोग र सहकार्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यो साझेदारीलाई अझ प्रभावकारी र दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।एभरेस्ट बैंक र विराटनगर किंग्सबीचको निरन्तर सहकार्यले खेलकुद र कर्पोरेट क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
