काठमाडौं – प्रशोधित भएर उपभोक्ताको घरमा पुग्ने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिमा बजार निरीक्षण अनुगमन गर्दा बजारमा आउने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको हो ।
विभागले प्रथम चौमासिक अवधिमा बजार निरीक्षण अनुगमन गरी १ हजार १ सय ८९ नमुना संकलन छ । संकलित नमुनाहरूको विश्लेषण परीक्षण गर्दा ७० वटा नमुना खाद्य ऐनको मापदण्डअनुसार छैन । मापदण्डअनुसार नपाइएका ७० नमुनामध्ये सबैभन्दा धेरै प्रशोधित पिउने पानीमा नै गुणस्तरहीन र दूषित पाइएको छ ।
विभागको प्रथम चौमासिक अवधिमा बजार अनुगमन प्रतिवेदनअनुसार ७० नमुनामध्ये २१ नमुना प्रशोधित पिउने पानी दूषित र गुणस्तरहीन फेला परेको छ । यसैगरी, दानाका १६ नमुना, तेल तथा घ्युजन्य नमुना १४ र खाद्यान्न १० लगायतका अन्य खाद्यपदार्थका नमुना मापदण्डविपरीत गुणस्तरहीन पाइएको छ ।
विभागले आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिमा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा २६ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको जनाएको छ । मुद्दा दायर गरिएका २६ थान मुद्दामध्ये सबैभन्दा धेरै प्रशोधित पिउने पानीका नै छन् । २६ थान मुद्दामा ५ मुद्दा प्रशोधित पिउने पानीका छन् ।
