काठमाडौं – नेपाली कांग्रेसले सरकार र विप्लव समूहले वार्ता समिति गठन गर्नु सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।
मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा ‘‘बादल’ नेतृत्वको दुई सदस्यीय वार्ता समिति बनाए लगत्तै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता समिति बनाएको छ।
कांग्रेसले यो प्रक्रियालाई सकारात्मक भएको प्रतिक्रिया दिएको हो । उसले इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रहसमेत गरिएको छ । ‘नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नुपर्ने मान्यतामा दृढ रहँदै आएको छ’, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रहेर समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।’