नेपाल र चीनबीचको कृषि विज्ञान तथा प्रविधि सहकार्यअन्तर्गत गरिएको परीक्षण सफल भएपछि मंगलबार धान कटानी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा चिनियाँ कृषि विज्ञ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक ऋषिराम कट्टेल, चिनियाँ दूतावासका प्रतिनिधि, परियोजनामा आबद्ध संस्थाका प्रतिनिधि तथा स्थानीय किसानको सहभागिता रहेको थियो ।
चोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसका धान विज्ञ वाङ छ्यानले नेपाली र चिनियाँ विज्ञको संयुक्त अनुसन्धान, प्राविधिक सहयोग तथा निरन्तरको मेहनतबाट उक्त उत्पादन हासिल भएको जानकारी दिनुभयो ।
विश्वविद्यालयका उपकुलपति कट्टेलले आठ सय दिनभन्दा बढी समयको अनुसन्धान र परीक्षणपछि प्राप्त उपलब्धिले नेपालको कृषि अनुसन्धान तथा धान उत्पादन वृद्धि गर्ने सम्भावना देखाएको बताउनुभयो । उहाँले यस प्रकारको सहकार्यले आधुनिक कृषि प्रविधिको विकास र प्रविधि हस्तान्तरणमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
चिनियाँ प्रतिनिधिमण्डलका नेता तान पिङले हाइब्रिड धानको सफल परीक्षणलाई नेपाल–चीन कृषि प्रविधि सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो ।
सन् २०२३ मा सुरु भएको चोङछिङको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क परियोजनाअन्तर्गत नेपालमा धान, भैंसीपालन र तरकारी उत्पादनका तीनवटा प्रविधि प्रदर्शन केन्द्र सञ्चालनमा छन् ।
परियोजनाअन्तर्गत सञ्चालित तरकारी खेती कार्यक्रमबाट लगातार दुई वर्ष सफल उत्पादन भएको र किसानलाई कतारलगायत मध्यपूर्वका देशमा तरकारी निर्यात गर्नसमेत सहयोग पुगेको जनाइएको छ ।
कार्यक्रमपछि चिनियाँ प्रतिनिधिमण्डलले विश्वविद्यालयको प्रयोगशाला, कृषि प्रविधि प्रदर्शन क्षेत्र तथा अनुसन्धान पूर्वाधारको अवलोकन गरेको थियो । सो अवसरमा हाइब्रिड धानको थप अनुसन्धान, तोरी खेतीको विकास र कृषि प्रविधि हस्तान्तरणमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।
नेपाल र चीनबीचको संयुक्त प्रयासबाट प्राप्त यस उपलब्धिले नेपालको कृषि उत्पादकत्व वृद्धि, खाद्य सुरक्षा सुनिश्चितता तथा आधुनिक कृषि प्रविधिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

