काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को कारण नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुन नसकेको बताएका छन् ।
आज बिहीवार समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा प्रतिक्रिया दिदै प्रवक्ता शर्माले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको अवस्था र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएको कारणले नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको बताए ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितिय रुपमा एकढिक्का भएर उभिएमा मात्रै नेपाली कांग्रेसको नेतृत्वमा अथवा अरु कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने बताए ।
प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रुपमा एकढिक्का भएर उभिने सङ्केत प्रष्ट नगरेको अवस्थामा नेपाली कांग्रेस प्रधानमन्त्री पदको लागि तयार नरहेको पनि बताए ।
