नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार गठनका लागि पहल गर्ने निर्णयसँगै देशको राजनीतिले कोल्टो फेरेको बताएका छन्।
शनिबार कपिलवस्तुमा पार्टीको जिल्लास्तरीय प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक घटनाक्रम फेरिएको बताएका हुन्।
‘हिजो र आजसम्मको काठमाडौँको राजनीतिक घटनाक्रम अलिकति फेरियो। खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको पहल गर्ने निणय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ’, प्रचण्डले भने।
उनले आफू नयाँ सरकार गठनको पहल गर्नुपर्ने भए पनि आफू पूर्व निर्धारित कार्यक्रम भएका कारण कपिलबस्तु आएको बताए। उनले आफू कार्यक्रमलगत्तै काठमाडौँ फर्कने र नयाँ सरकार गठनका लागि पहल लिने समेत बताए।
उनले कांग्रेसको निर्णयले नयाँ सरकार गठनको बाटो खोलेको र अब छिट्टै नयाँ सरकार बन्ने विश्वास समेत व्यक्त गरे।
