काठमाडौँ – भक्तपुरमा नयाँ वर्षमा मनाइने बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
भक्तपुरका स्थानीय बासिन्दा एवं अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रा रोक्ने निर्णय कार्यान्वयन नगर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई आदेश दिएको हो। सर्वोच्चले उक्त निर्णय गर्नुपर्नाको कारणसमेत पेस गर्न भनेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले कोरोना संक्रमण बढेको भन्दै जात्रा गर्न नदिने निर्णय गरेको थियो।
उक्त निर्णयविरुद्ध मंगलबार परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले जात्रा सञ्चालन गर्न भनेको हो। जात्रा रोक्ने प्रशासनको निर्णयप्रति भक्तपुरका स्थानीय बासिन्दा एवं गुठियारहरु आक्रोशित थिए।
