काठमाडौँ – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले आज बिहान ९ बजे बल्खुस्थित पार्टीको पहिले कार्यालय रहेकै ठाउँमा नयाँ भवन निर्माण गर्न शिलान्यास गर्न लागेका हुन्। बल्खुमा नेकपा एमालेको नाममा करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको जग्गा छ।
२०७२ सालमा गएको भूकम्पले बल्खुस्थित एमाले कार्यालय भवनमा क्षति पुगेको थियो। कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा ओलीले आज पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको हालैको बैठकले बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवन बनाउने निर्णय गरेको थियो।
साथै नेकपा एमालेले आजदेखि थापाथलीस्थित नयाँ पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ। भाडामा लिइएको घरमा पार्टी कार्यालय राख्न लागिएको हो।
प्रधानमन्त्री ओली बिहान ११ बजे थापाथलीस्थित नयाँ पार्टी कार्यालय जाने कार्यक्रम छ।
