काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ दलहरुमा सहमति जुटेको छ ।
पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन हुने बताईरहेका छन् ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भन्दै सोहीअनुसार तयारी गर्न निर्देशन दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा खासगरी महानगरपालिकामा सत्ता गठबन्धनले भागबण्डा गरिसकेका स्रोतले जनाएको छ । गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा कांग्रेसको नेतृत्वमा चुनाव लड्ने करिब करिब सहमति भैसकेको छ । त्यस्तै, भरतपुर महानगरपालिका भने माओवादी केन्द्रले लिने भएको छ ।
उता, पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी) र वीरगञ्जमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले लिने भएको छ । कांग्रेसले काठमाडौंमा अहिलेकी उपमेयर हरिप्रभा खड्गीलाई मेयर बनाउनेगरि तयारी गरेको छ ।
उता, ललितपुरमा भने अहिलेका मेयर चिरिबाबु महर्जन नै उठ्ने चर्चा छ । विराटनगरमा पनि अहिलेका मेयर भीम प्रसाद पराजुली उठ्ने जनाईएको छ । माओवादी केन्द्रले भरतपुरमा पनि रेनु दाहाललाई नै निरन्तरता दिन चाहेको छ।
रेनुले राम्रो काम गरेको भन्दै उनलाई निरन्तरता दिनेबारे नेतृत्व तहमा करिब करिब सहमति भैसकेको छ । वीरगन्जमा पनि जसपाले अहिलेका मेयर विजयकुमार सरावगीलाई नै उठाउने चर्चा छ।
कांग्रेसमा शेखर कोइराला समूहले भने स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने भनेर सार्वजनिक रुपमै बोलिरहेको बेलामा सभापति एवम् प्रधानमन्त्री देउवाले भने भागबण्डाको सहमतिबारे गृहकार्य नै थालिसकेका छन् ।
आजमात्रै पनि प्रधानमन्त्री देउवाले गठबन्धन नगरी चुनाव लड्दा कुनै एक दलको बहुमत नआउने दाबी गरेका छन् । उनले पछिल्लो समय गठबन्धनलाई आगामी तीनै तहको निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउँदै आएका छन्।
