रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । नगरपालिका–१४ फुलासीमा एमालेका वडा अध्यक्षका उम्मेदवार मोतीलाल तामाङसहित उनको प्यानल नै विजयी भएका छन् । सार्वजनिक मतपरिणाम अनुसार तामाङसहित प्यानल नै विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीले जानकारी दिएको छ ।
त्यस्तै रामेछापकाे उमाकुण्ड गाउँपालिका १ गुम्देलको वडा अध्यक्षसहित ३ जना सदस्य पदमा नेकपा एमालेका उम्मेदवारले जित निकालेका छन् । एमालेका उम्मेदवार ङातिण्डु शेर्पा वडा अध्यक्षमा निर्वाचित भएका हुन । उनले ४ सय ७४ मत पाएका थिए ।
उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका ङापेम्बा शेर्पोले ४ सय ६१ मत पाएका थिए । उक्त वडामा यस अघी नेपाली काँग्रेसले जितेको थियो । त्यसैगरी ३ जना वडा सदस्यमा एमाले र १ वडा सदस्यमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाका प्रमुख र उप प्रमुखमा पनि एमालेले गुम्देलबाट अग्रता लिएको छ ।
त्यसैगरी रामेछापको लिखु तामाकोसी–१ को वडाध्यक्षमा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा तामाङले ८ सय ५० मत प्राप्त गरी विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ७ सय ३३ मत प्राप्त गरे। सो वडामा एमालेका पालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ७ सय ९७ र ८ सय ९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवारले क्रमशः ७ सय ५८ र ७ सय १४ मत प्राप्त गरे ।
