गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना देशभर जारी छ । ५२ हजार ८१७ मत गन्दा पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका धनराज आचार्यले २४९२ मतान्तरले अग्रता लिइरहेका छन् ।
एकीकृत समाजवादीका आचार्यले पछिल्लो मतपरिणाम अनुसार २१ हजार ८८० मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउदै नेकपा एमालेका कृष्णबहादुर थापाले १९ हजार ३८८ मत ल्याएका छन् ।
राप्रपाका शंकर खरालले २ हजार १८६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । स्वतन्त्रका गणेश पौडेलले ११ सय ८३ मत ल्याएका छन् ।
महानगरको उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २२ हजार १३१ मत ल्याउँदा कांग्रेसकी कोपिला रानाभाटले २२ हजार १२२ मत प्राप्त गरेकी छिन् ।
रानाभाटलाई एमाले उम्मेदवार गुरुङले केवल ९ मतले मात्रै पछाडि पारेकी छन् । ४५ हजार मत गन्दासम्म उपमेयरमा कांग्रेसले अग्रता लिइरहेको थियो ।
यस्तै सत्तारुढ गठबन्धनको उम्मेदवारले हेटौंडा उपमहानगरपालिकामा आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । सत्तारुढ गठबन्धनतर्फ हेटौंडाको मेयरकी उम्मेदवार नेकपा (एस) की नेता मीनाकुमारी लामा र उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले आफ्नो अग्रतालाई बढाएका हुन् ।
हेटौंडामा जारी मतगणनाको परिणाम धमाधम सार्वजनिक भइरहेको छ । कुल ५५ हजार ३८७ मत गणना हुँदा लामाले १७ हजार ३४३ मत प्राप्त गरेकी छिन् ।
उनी नेकपा एमाले मेयरका उम्मेदवार अनन्तप्रसाद पौडेलभन्दा ११ सय ८० मतले अगाडि रहेकी छिन् । उनी तीन दिनदेखि आफूलाई अग्रस्थानमा राख्न सफल भइरहेकी छिन् ।
