चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छन्। नेकपा एमालेका बिजय सुबेदीलाइ साढे १२ हजार मतले पराजित गर्दै रेनु बिजयी बनेकी हुन्।
मतगणना केहिबेर अघि सकिएको हो । रेनुले ५२ हजार ३० मत ल्याइन । बिजयले ३९ हजार ५ सय ८१ मत पाए ।
रेनु गठबन्धनबाट साझा उम्मेदवार थिइन । बिजय एमाले र राप्रपाबिचको गठबन्धनका उम्मेदवार थिए।
स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४७२८ मत ल्याएका छन्।
उपमेयरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२८०३ मतसहित विजयी भए भने एमाले-राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी नेता हिमला गुरुङले ३०६१२ मत ल्याएकी छन्।
को हुन् रेणु दाहाल ?
झट्ट बुझ्दा रेनु दहाललाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको छोरीका रुपमा चिनिन्छ । तर उनको पहिचानलाई नै मारेर प्रचण्डको छोरी भएकै कारण राजनीतिमा चार्मिक भएको भनेर परिचित गराइनुमा उनिप्रति अन्याय हुन्छ । किनभने रेणुले आफ्नो इमान र प्रतिष्ठाका लागि धेरै संघर्ष र योगदान गरेको उनको प्रोफाइल गहिरो गरी अध्ययन गर्दा देखिन्छ ।
उनको जम्म वि.सं. २०३३ असार २६ गते चितवन शिवनगरको भीमसेन नगरमा भएको थियो । उनी राजनीति बुझ्ने भएदेखि नै कम्युनिष्ट राजनीतिमा लागिन् । १० वर्षे माओवादी जनयुद्धका क्रममा उनी बाबु प्रचण्डजस्तै भूमिगत भएर काम गरिन् ।
जनयुद्धकालमा उनले प्रवास तथा देशको विकट ग्रामीण क्षेत्रमा संगठनात्मक रुपमा नेतृत्वदायी भूमिकामै रहिन् । उनी भरतपुरको मेयरमा टपक्कै टिपेर ल्याइएकी पात्र होइनन् । भरतपुरको मेयर हुनुपुर्व नै उनी संविधान सभा सदस्य भइसकेकी थिइन् ।
०६४ जेठ १३ गतेदेखि २०७९ जेठ १४ सम्म उनी संविधान सभा सदस्य थिइन् । उनी माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को महासचिवको जिम्मेवारी समेत सम्हालिसकेकी थिइन् ।
उनीसँग माओवादी केन्द्रको पोलिटब्युरो सदस्यको रुपमा पनि काम गरेको अनुभव छ । युद्धकालमा उनी माओवादी आधारइलाकाको रुपमा रहेको रोल्पाको जिल्ला सहइन्चार्जसम्मको जिम्मेवारीमा थिइन् ।
पछि उनी काठमाडौंमा माओवादी केन्द्रको जिल्ला सचिवको जिम्मेवारीमा पनि थिइन् । त्यति मात्रै नभई उनले अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रुपमा प्रवासमा रहेर संगठन निर्माणमा खटिएकी थिइन् ।
को हुन् चित्रसेन ?
चित्रसेन अधिकारी राजनीतिक कार्यकर्ताका अतिरिक्त सामाजिक अभियन्ता पनि हुन् । २०३८ सालबाट राजनीतिक यात्रामा होमिएका अधिकारी २०४२ सालको सत्याग्रहमा पनि सामेल थिए ।
२०४६ सालको जनआन्दोलनमा हिरासतमा लामो समय आफ्नो जीवन बिताएका अधिकारी नेपाली काँग्रेसमा अवरुद्ध रहेर पार्टीका सबै कार्यक्रममा अग्रपंक्ति खटिँदै आएका छन् ।
२०६२–६३ को आन्दोलनको नेतृत्व गरेर समाजमा सबैको हाइहाइ बनेका उनी नेपाली काँग्रेसको ११ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि, १२ औं महाधिवेशनमा क्षेत्रीय सदस्य हुँदै राजनीतिक यात्रामा आफूलाई अब्बल साबित गर्न सफल भए ।
पार्टीको १३ औं महाधिवेशनमा जिल्ला सदस्य भएका अधिकारी १४ औं महाधिवेशनमा आएर भरतपुर महानगरको सभापतिजस्तो गरिमामय पदमा निर्वाचित भए ।
२०५४ को स्थानीय निर्वाचनमा साविक पार्वतीपुर गाविस–७ को वडा अध्यक्ष, २०७४ सालको स्थानीय निर्वाचनमा भरतपुर–२१ को वडा अध्यक्ष हुँदै उनले जनप्रतिनिधिका रुपमा पनि काम गरे ।
पार्वतीपुर खानेपानी उपभोक्ता समितिको वर्तमान अध्यक्ष, अन्नपूर्ण कलेजको संस्थापक सदस्य, अन्नपूर्ण माविको व्यवस्थापन समितिको सदस्य, पार्वतीपुर स्वास्थ्य चौकीको व्यवस्थापन समिति अध्यक्ष, खगेरी सिंचाई उपभोक्ता समितिको सदस्य, पार्वतीपुर प्रेरणा साकोसको निवर्तमान अध्यक्ष, पार्वतीपुर मेलमिलाप समितिको निवर्तमान सयोजक हुँदै उनले सामाजिक र राजनीतिक जीवनमा आफूलाई खर्चिएका छन् । अधिकारीले राजनीतिक शास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन् ।
