काठमाडौं– रौतहटको बौधीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।नगर प्रमुखमा एकीकृत समाजवादीका प्रमुख प्रदीप कुमार यादव निर्वाचित भए। उनले ४ हजार ८१० मत पाए। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजीव रंजन यादले ४ हजार ६२४ मत पाए।
यस्तै, उपप्रखुमा एकीकृत समाजवादीकै प्रमिला देवी निर्वाचित भइन्। उनले ४ हजार ८९४ मत पाइन् भने उनकी निकटतम प्रतिस्पर्धी जसपाकी शीमा नेसाले ४ हजार ४८१ मत पाइन्। बौधीमाई नगरपालिकामा एकीकृत समाजवादीले तीन वडा जितेको छ। जसपाले तीन, कांग्रेसले दुई र एमालेले एक वडाध्यक्ष जितेका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा एकीकृत समाजवादीले एक्लै प्रतिस्पर्धा गरेको थियो। उसले चार नगरपालिकामा प्रमुख, उपप्रमुख जितेको छ।
त्यस्तै, एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत सुनिश्चित भएको हो ।
पोखरा महानगरपालिकामा अहिलेसम्म १ लाख ३८ हजार २११ मत मतगणना सकिएको छ । पछिल्लो मत परिणाम अनुसार गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेकपा समाजवादीका धनराज आचार्यले ५६ हजार ४७१ मत मत ल्याएका छन् ।
मेयर पदका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार १८५ मत पाएका छन् भने आचार्य थापाभन्दा ५ हजार २८६ मतले अगाडि छन् । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम राखेकी छन् । उनले ५८ हजार ५८२ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याएकी छन् ।
यस्तै चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छन्। नेकपा एमालेका बिजय सुबेदीलाइ साढे १२ हजार मतले पराजित गर्दै रेनु बिजयी बनेकी हुन्।
मतगणना केहिबेर अघि सकिएको हो । रेनुले ५२ हजार ३० मत ल्याइन । बिजयले ३९ हजार ५ सय ८१ मत पाए । रेनु गठबन्धनबाट साझा उम्मेदवार थिइन । बिजय एमाले र राप्रपाबिचको गठबन्धनका उम्मेदवार थिए।
स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४७२८ मत ल्याएका छन्। उपमेयरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२८०३ मतसहित विजयी भए भने एमाले-राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी नेता हिमला गुरुङले ३०६१२ मत ल्याएकी छन्।
