काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ । अन्तिमपटक गणना सकिएको वडा नम्बर १४ मा नेपाली कांग्रेसले जित हासिल गर्यो ।
यस वडामा कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ ३ हजार ४४२ मतका साथ विजयी भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी एमालेकी रश्मी खड्काले ३ हजार तीन सय ४६ मत ल्याइन् । सुमन र रश्मीबीच ९६ मतको मतान्तर छ ।
यस वडाबाट मेयरमा सबैभन्दा बढी भोट स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई आएको छ ।
त्यस्तै काठमाडौं महानगर–१९ को वडाध्यक्षमा नेपाली कांग्रेसले बाजी मारेको छ । वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका चन्द्रमान मुनिकारको भन्दा दोब्बर मत ल्याएर श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले १२०० मत पाए भने मुनिकार ७४१ मा सीमित भए ।
यो वडाबाट महानगरको मेयरका लागि कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । परिणामअनुसार कांग्रेसकी सिर्जना सिंहले ७८१ मत पाएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले ७०२ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारद्वय बालेन साह र सुमन सायमीले क्रमशः ६५४ र ४४५ मत प्राप्त गरेका छन् ।
त्यस्तै काठमाडौं महानगरको मतगणना सकिएसंगै राष्ट्रिय सभागृह अगाडिको माहोल गुलजार बनेको छ । झमझम वर्षातका बीच बालेनका समर्थकहरु उत्साहका साथ नारावाजी गरिरहेका छन्
बालेन साहको समूहले माइकिङ गर्ने र बधाई दिने काम शुक्रवार बिहान गर्न आग्रह गरेका छन् । पानी परेको र रातको समय भएको हुँदा तत्काल विजय जुलुस निकाल्न नसकिने भन्दै बालेनको समयमाले शुक्रबार बिहान ८ बजे कार्यक्रम गर्ने र ११ बजेबाट जुलुस निकाल्ने तयारी गरेको छ ।
