नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गौतम ओली निवास बालकोट पुगेका थिए ।

वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा प्रचण्ड–माधव र झलनाथसँगै गौतमको पनि भूमिका रहेको बताएका छन् ।

त्यसबेला बलियो पार्टी बनाउने, देश बनाउने भन्दा पनि कसले के खाने कसले के पाउने भन्नेमा सबैजना लागेको भन्दै ओलीले भने, ‘अहिले नै चाहियो भनेर मलाई घेराबन्दी गरेर पार्टी कब्जा गर्न खोज्दाका परिणामहरू पछि देखिएका हुन् ।’

भेटमा  गौतमले  अध्यक्ष ओलीसँगको भेटमा पुरानो मित्रता कायमै राखेर जाने सहमति भएको बताएका छन्। दुईजनाको मित्रतापूर्ण विगतबारे सम्झना गरेको बताए।

‘हामीले मित्रतापूर्ण विगतको सम्झना गर्‍यौं,’ गौतमले भने, ‘अब पनि मित्रता कायम राखेर जाऊँ भन्ने कुरामा सहमति भएको छ।’

एमाले अध्यक्ष ओलीलाई भेट्न गौतम बिहीबार बिहान बालकोट पुगेका थिए। भेटमा उनले आफ्नो ३ महिने अभियानबारे ओलीलाई लिखित जानकारी गराएका थिए।

‘हामीले कम्युनिष्ट पार्टीहरूबीच एकता गर्ने गरी गरेका निर्णयहरूबारे मैले उहाँलाई जानकारी गराएँ,’ उनले भने, ‘उहाँ त्यसमा बोल्नुभएको छैन। उहाँलाई मैले हाम्रो निर्णयहरु लिखित रुपमा जानकारी गराएको छु।’

गौतम नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने अभियानमा जुटेका छन्। उनले नयाँ दल घोषणा गर्दै तीन महिनासम्म एकीकृत गर्ने अभियानमा जुट्ने र सम्भव नभए दल दर्ताको अभियानमा अघि बढ्ने बताएका छन्।

त्यही अभियानअन्तर्गत बिहीबार ओलीलाई भेट्न गौतम बालकोट पुगेका हुन्। अन्य कम्युनिस्ट नेताहरुसँग पनि आजदेखि समय लिएर निरन्तर भेटघाट हुने गौतमको सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here