काठमाडौं – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेलगत्तै उनले प्रचण्ड भेट्न गएका हुन् ।

उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए । बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन् । गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुसार गौतमले दौडधूप बढाएका हुन् ।

वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा प्रचण्ड–माधव र झलनाथसँगै गौतमको पनि भूमिका रहेको बताएका छन् ।

त्यसबेला बलियो पार्टी बनाउने, देश बनाउने भन्दा पनि कसले के खाने कसले के पाउने भन्नेमा सबैजना लागेको भन्दै ओलीले भने, ‘अहिले नै चाहियो भनेर मलाई घेराबन्दी गरेर पार्टी कब्जा गर्न खोज्दाका परिणामहरू पछि देखिएका हुन् ।’

भेटमा गौतमले अध्यक्ष ओलीसँगको भेटमा पुरानो मित्रता कायमै राखेर जाने सहमति भएको बताएका छन्। दुईजनाको मित्रतापूर्ण विगतबारे सम्झना गरेको बताए। ‘हामीले मित्रतापूर्ण विगतको सम्झना गर्‍यौं,’ गौतमले भने, ‘अब पनि मित्रता कायम राखेर जाऊँ भन्ने कुरामा सहमति भएको छ।’

एमाले अध्यक्ष ओलीलाई भेट्न गौतम बिहीबार बिहान बालकोट पुगेका थिए। भेटमा उनले आफ्नो ३ महिने अभियानबारे ओलीलाई लिखित जानकारी गराएका थिए।

‘हामीले कम्युनिष्ट पार्टीहरूबीच एकता गर्ने गरी गरेका निर्णयहरूबारे मैले उहाँलाई जानकारी गराएँ,’ उनले भने, ‘उहाँ त्यसमा बोल्नुभएको छैन। उहाँलाई मैले हाम्रो निर्णयहरु लिखित रुपमा जानकारी गराएको छु।’

गौतम नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने अभियानमा जुटेका छन्। उनले नयाँ दल घोषणा गर्दै तीन महिनासम्म एकीकृत गर्ने अभियानमा जुट्ने र सम्भव नभए दल दर्ताको अभियानमा अघि बढ्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here