काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिलविकास राजभण्डारीलाई उपाध्यक्षमा र दमन बस्नेत सह–महामन्त्री पदमा मनोनयन गरेका छन्।
अध्यक्ष थापाले दुवैलाई शनिबार जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे। राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका थिए।
पार्टीका महामन्त्री राजाराम बर्तौलाले आवश्यकता अनुसार आगामी दिनमा अन्य नेतालाई पनि जिम्मेवारी दिने बताए ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले स्पष्टिकरण सोधेपछि पार्टी छाडेका ४ जना नेताहरु कमल थापा नेतृत्वको राप्रपा नेपाल प्रवेश गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्टि जनाएका ४ नेतालाई राप्रपाले २४ घन्टे स्पष्टिकरण सोधेको थियो। उनीहरुले स्पष्टीकरण नदिई पार्टी परित्यागको घोषणा गरेका थिए।
राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले प्रवेश गराएका हुन्। राप्रपा नेतृत्वप्रति असन्तुष्ट हुँदै नेताहरु दीलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठले पार्टी छाडेका थिए। त्यसैगरी राप्रपाका तत्कालीन खेलकुद विभाग प्रमुख दमन बस्नेत पनि कमल थापाको पार्टीमा प्रवेश गरेकाछन्।
त्यसअघि राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले उनीहरुलाई पार्टी हितविरुद्ध लागेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको थियो।
