काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको गठबन्धन निरन्तर जाने बताएका छन् ।
बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका हुन ।
‘कांग्रेससँग नै सहकार्य गर्ने हो, अब दायाँ–बायाँ सोच्नुहुन्न,’ प्रचण्डको भनाइ उद्धत गर्दै स्थायी समिति सदस्य हरिबोल गजुरेलले अनलाइनखबरसँग भने, ‘एमालेसँग सहकार्य सम्भव छैन ।’
प्रचण्डले बैठकमा समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी गराएका थिए। हालको गठबन्धन भित्रकै वापमन्थी दलहरुबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको बताएका थिए ।
‘गठबन्धनभित्रै वामपन्थीहरुको एउटा मोर्चा त बन्छ । तर, पार्टी एकता संयोजन समिति बन्छ कि बन्दैन अझै टुंगिएको छैन,’ बैठकमा प्रचण्डले भनेका थिए ।
पोलिटब्युरो समितिका नाम र स्थायी समितिलाई पूर्णता दिनेबारे छलफल गर्न भोलि शुक्रबार पनि बैठक बस्ने गजुरेलले जानकारी दिए ।
बैठकमा पार्टी पदाधिकारी सहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाएर जानुपर्ने माग राखेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले आफ्नो धारणा राख्नेक्रममा पदाधिकारी सहित सम्पूर्ण कमिटी टुंगो लगाउन दबाब दिएका हुन् ।
बैठकमा नेताहरु पाँच दलीय गठबन्धनको लाभ र नोक्सानी, समाजवादी केन्द्र निर्माण,आगामी संघ र प्रदेशको चुनावी रणनीति सहित समसायमयिक विषयमा धारणा राखेको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए । आगामी प्रदेश र संघको चुनावमा कुन योजना र रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा नेताहरुले आ आफ्नो धारणा राखेको पोखरेलले बताए ।
‘आज बोल्ने नेताहरुको धारणा सकिएन । राष्ट्रिय सभाको बैठक भएकाले बैठक सकियो । भोलि पुन विहान ८ बजे बैठक बस्ने छ’ पोखरेलले भने। बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवाद र स्थानीय चुनावमा भएको अन्तर्घातका विषयमा समेत छलफल हुने बताएको छ । यहीँ स्थायी समिति बैठकबाट स्थायी समिति र पोलिटब्युरोको टुंगो लाग्ने भएको छ ।
