नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको बताएका छन्।
उनले एम अधिकारी पैसामा अधिकार भएको मान्छे भएको र सो मान्छे नेपाल राष्ट्र बैंकको गभर्नर रहेको दाबी गरे। उनले नेपाल राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्न माग पनि गरे।
उनले भने, ‘संसदमा सशक्तका साथ आवाज उठिसकेपछि एम अधिकारी त खोज्नुपर्यो। एम अधिकारीका थरका मान्छेले नखोजेपनि, त्यो पार्टीका मान्छेले नखोजेपनि, यो सदनले नखोजेपनि एउटा सांसदको नाताले त मैले खोज्नैपर्यो भनेर म खोज्न रात, दिन लागेँ। मैले प्रमाण पनि भेट्टाएँ। एम अधिकारी भन्ने मान्छे, मैले डिस्नेरी हेरेँ। सबै हेरेँ। अन्तिममा मैले के भेट्टाए भने प्रमाण भेट्टाएँ। एम भनेको मनि रैछ। एम बाट मनि, मनि भनेको पैसा। ढुकुटी, रुपैयाँ। अधिकारी भनेको अधिकार भएको मान्छे। पैसाको अधिकार भएको मान्छे। अथवा ढुकुटीमा अधिकार भएको मान्छे भन्ने बुझाउँदो रहेछ त्यसले। को छ त त्यो पैसामा अधिकार भएको, ढुकुटीमा अधिकार भएको मान्छे भनेर हेर्दा तिनी गभर्नर रहेछन्। गभर्नरलाई पैसाको अधिकार भएको मान्छे अथवा एम अधिकारी भन्दोरहेछ। त्यसैले समिति त बनेन तर म आफैँ एक्लै, म त्यो थरको मान्छे पनि होइन। तरपनि मैले एम अधिकारी भन्ने मान्छे मैले खोजेर सभामुख समक्ष मैले बुझाएको छु। त्यो ढुकुटीको अधिकार भएको मान्छे गभर्नर मैले सभामुखको अगाडी बुझाएको छु। उहाँमाथि कारबाही होस्।’
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उनले केही अघि एम अधिकारी र सीसीटीभी फुटेजबारे निकै सोधखोज भएको चर्चा गरे ।
सीसीटीभी फुटेजबारे संसदीय विशेष समितिले छानबिन गरेको र यसअघि चर्चा भएजस्तो त्यस्तो केही नभेटिएको आफूले सुनेको पनि उनले बताए । तर एम अधिकारीबारे कसैले खोजीमा चासो नदेखाएपछि आफूले खोजेको उनको भनाइ छ ।
