अर्थमन्त्री पदमा पुनः जनार्दन शर्मा नै फर्किने भएका छन्। साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । माओवादीबाट अर्थमन्त्री नियुक्त गर्नेबारे छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् ।
प्रचण्ड अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै नियुक्त गर्ने प्रस्ताव लिएर बालुवाटार पुगेको माओवादी स्रोतले बतायो । प्रचण्डले आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्ने आग्रह गर्ने स्रोतले बतायो ।
बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए।
उनीबारे छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिए पनि उसले शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दिएको थियाे। त्यसपछि शर्मालाई नै पुन: अर्थमन्त्री पदमा फर्काउन लागिएको हाे।
निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको आरोप पुष्टि हुने आधार भेटिएन । बजेट निर्माणका बेला असम्बन्धित व्यक्ति पसेर करको दर हेरफेर गरेको आरोप लागेपनि ती व्यक्ति पसेको कुनै आधार नभेटिएको हो ।
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिपोर्ट संसदको विशेष समितिका सदस्यहरुले हेर्दा कोहीपनि छिरेको पुष्टि हुन सकेन ।
स्रोतका अनुसार अर्थ मन्त्रालयमा पसेको नभेटिएपछि सिंहदरबारस्थित मूल गेटको फुटेज मागियो । तर, उक्त फुटेज १६ दिनमात्र रहने भनी गृह मन्त्रालयले पत्र पठायो ।
