आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना गर्ने भएको छ । सरकारले आज (बिहीवार) प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन सुरक्षाका लागि प्रहरीले १ लाखको हारहारीमा म्यादी प्रहरीहरु भर्ना गर्ने भएको हो ।
‘सरकारले आज मात्रै चुनावको मिति घोषणा गरेको छ । भर्खरै स्थानीय तहको निर्वाचन गरेको अनुभव पनि छ, त्यसकै आधारमा प्रारम्भिक चरणमा १ लाख म्यादी प्रहरी खटाउने योजनामा छौँ,’ डीआईजी राईले भने, ‘सुरक्षा योजनापछि मात्रै यकिन तथ्यांक आउँछ ।’ उनले केही समयमै म्यादी प्रहरीकाे भर्ना खाेलिने जानकारी दिए ।
प्रहरीले स्थानीय तहको निर्वाचनमा एउटा निर्वाचन केन्द्रमा ३ जना प्रहरी र अरु म्यादी प्रहरी खटाएको थियो । यस्तै, सशस्त्र प्रहरी बलले पनि आगामी चुनावमा ३२ हजार सशस्त्र प्रहरी र कर्मचारी खटाउने बताएको छ ।
गृहमन्त्रालयले स्थानीय तहको निर्वाचनमा खटिएका भन्दा धेरै सुरक्षाकर्मी खटाउने योजना रहेको बताएको छ । गृहमन्त्रालयका उपसचिव तथा सूचना अधिकारी वसन्त भट्टराईका अनुसार अघिल्लो निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीसहित २ लाख ५० हजार सुरक्षाकर्मी खटाएको र अहिले त्यो भन्दा धेरै खटाउने तयारी रहेका बताए ।
‘हामीले स्थानीय तहको निर्वाचन शान्तिपूर्वक सम्पन्न गरेका छौँ, तर पनि यसपाली अलिकति सुरक्षाकर्मी बढाउने योजनामा छौँ,’ सूचना अधिकारी भट्टराईले भने, ‘कति थप्ने, कुन–कुन सुरक्षा निकायमा भन्ने कुरा सुरक्षा योजनापछि मात्रै आउँछ ।’
स्थानीय तहको निर्वाचनमा सुरक्षा अवस्था कमजोर भएको गुनासो निर्वाचन आयोगले गरेको थियो । त्यो समयमा निर्वाचन आयोगले देशमा ८२ स्थानमा सुरक्षा निकायको कमजोरीले गर्दा पुन निर्वाचन गर्नु पर्ने अवस्था आएको दाबी गरेको थियो ।
स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले चाहिँ १ लाख १९ हजार म्यादी प्रहरी माग गरेको थियो ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) समेत रहेका प्रवक्ता राई भन्छन्, ‘विगतमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गर्ने प्रस्ताव लैजान्छौं ।’ उनका अनुसार विगतमा झैँ यसपालि पनि पूर्वसुरक्षाकर्मीहरुले पनि प्राथमिकता पाउनेछन् ।
के- के चाहिन्छ योग्यता ?
मापदण्ड अनुसार म्यादी प्रहरी हुन १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको र शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहेको हुनुपर्ने पनि भनिएको छ । यसरी नियुक्त भएका म्यादी प्रहरीले जनपथ प्रहरीसँग मिलेर काम गर्नुपर्ने छ ।
काम छाडेर वा अरुलाई जिम्मा लगाएर कतै जान वा भाग्न पनि रोक लगाइएको छ । बीचमा काम छाडेर हिँडे वा जिम्मेवारी पूरा नगरे सुविधा रोक्का हुने मापदण्डमा उल्लेख छ । कुनै म्यादी प्रहरीले जानाजान सरकारी सम्पत्तिको हानी नोक्सानी गरे उसैबाट असूल गरिने पनि उल्लेख गरिएको छ ।
