काठमाडौं – नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दुई नेताबीच भेटवार्ता भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। छलफलमा चाङ्सुले तिब्बती परिचय पत्र र नेपालबाट पास भएको एमसीसी परियोजनाको विषयमा जिज्ञासा राखेका थिए।
माओवादी केन्द्रका अध्यक्षसहित पदाधिकारीसँग मंगलबार संसद भवन नयाँ बानेश्वरमा भेट गर्दै चाङ्सुले तिब्बती परिचयपत्र र एमसीसीको विषयमा चासो राखेका हुन्।
एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध भएकोले चीनविरुद्ध कुनैपनि गतिविधि हुँदैन, चीनसँग सीमा जोडिएको क्षेत्र वरिपरिका भौगोलिक सीमाना, र भूगोलमा त्यसखालको गतिविधि हुन दिदैँन।’ प्रचण्डले एमसीसी पास गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको र त्यो ऐनकै रुपमा रहेको प्रष्ट पारे।
द्विपक्षीय छलफलमा माओवादी अध्यक्ष प्रचण्डले नेपालको आर्थिक विकासका लागि मुख्य साझेदार राष्ट्र भएका नाताले सहयोग गर्न आग्रह गरेका थिए।’ भौगोलिक विकासमा चीनले गरेको सहयोग राम्रो भएपनि केही योजनाहरु समयमै सम्पन्न नहुँदा त्यसले समस्या पारेको प्रचण्डले बताए।
‘भइराखेका योजना निर्माण सम्पन्न गर्न तदारुकता दिनुपर्छ, नेपाल चाइना पोर्ट (नाका) लामो समयदेखि अवरुद्ध छन्, यी दसैँ तिहार अघि नै खोल्ने वातावरण बनाउनु आग्रह गर्दछु,’ प्रचण्डले भने।
जवाफमा चाङ्सुले सीमा नाकाको अवरुद्ध खुलाउन चिन्तित रहेको बताउँदै दसैँ, तिहार अघि नै सहज रुपमा नाका खोल्ने वातावरण बनाउने प्रतिवद्धता जनाए।
अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन निम्ति चिनियाँ पक्षसँग आग्रह गरे।
बीआरआई लगायतका परियोजना मार्फत भैरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिएका छन्। त्यसबाहेक प्रचण्ड र चाङ्सुबीच ‘पार्टी टू पार्टी सम्बन्ध’का बारेमा पनि छलफल भएको थियो।
