काठमाडौं – महाभियोग लागेर निलम्बनमा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानमा क्रममा नाम लिएका व्यक्तिहरुलाई पनि महाभियोग सिफारिस समितिले बयानमा बोलाउने निर्णय गरेको छ।
समितिको बयानका क्रममा राणाबाट उनीहरुको नाम आएकाले सत्य तथ्य पत्ता लगाउन पनि सम्बन्धित पक्षको कुरा सुन्नुपर्ने देखिएकोले समितिले उक्त निर्णय गरेको सांसद मिन विश्वकर्माले बताए।
समितिले बुधबार राणाले आरोप लगाएका नेपाल बार एशोसिएसनका पदाधिकारी, सर्वोच्च बारका पदाधिकारी, पूर्वन्यायाधीश, राजनीतिक दलका नेताहरुलाई पनि बोलाउने निर्णय भएको विश्वकर्माले बताए।
राणाले बयानका क्रममा सर्वोच्चका न्यायाधीशको पनि नाम लिएको तर, उनीहरु संसदीय समितिमा बोलाउँदा आउन नभ्याउने भएकाले कुनै निर्णय नभएको उनले बताए। राणाले सर्वोच्च अदालका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, प्रकाशमान सिंह राउत लगायतको नाम नै लिएर विभिन्न आरोप लगाएका थिए।
राणाले ललिता निवासदेखि न्यायाधीश नियुक्ति र महाभियोग दायर भएपछि आफूमाथि ‘बार्गेनिङ’ गरेको भन्दै केही नेताहरुको नाम लिएका थिए। राणाले आफूमाथि लागेको आरोपमा सफाइ दिने भन्दा अरुलाई आरोपित गरेर उम्किन खोजेको भन्दै आलोचना भइरहेको छ।
यस्तै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध लागेको महाअभियोगबारे सोधिएका ४३ वटै प्रश्नको जवाफ दिएका छन्। मंगलबार पाँचौँ दिनको बयानका क्रममा उनले यसअघि बाँकी रहेका ८ वटा प्रश्नको जवाफ दिएका हुन्।
तेस्रो बैठकसम्म चोलेन्द्रको बयानसँगै सांसदहरुले प्रतिप्रश्न गर्दा समय लम्बिने र विवाद पनि भएको थियो। त्यसपछि चौथो र पाँचौँमा चोलेन्द्रबाट जवाफमात्रै लिइएको थियो।
११ सदस्यीय महाअभियोग सिफारिस समितिको बैठकमा सबै ४३ प्रश्नको जवाफ दिएपछि अब सांसदहरुले चोलेन्द्रसँग पूरक प्रश्न सोध्ने छन्।
