देशभर आजकाे माैसम आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसमविद्ले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने छ । तराईका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको महाशाखाले जनाएकाे छ ।
मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेकोले भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।
नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।
