काठमाडौं – यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।
शनिबार दिउँसो सवा २ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २७ लाख ८३ हजार ३८७ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ५२ हजार ६२८ मत ल्याएको छ ।
नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमै छ । माओवादी केन्द्रले ११ लाख ६१ हजार ८८० मत पाएको छ । ११ लाख २३ हजार ७८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८६ हजार २५९ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार ९४३ मत पाउँदै छौटौँ स्थानमा छ ।
जनमत पार्टी तीन लाख ९४ हजार ३८५ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९४ हजार १०० मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७१ हजार ६५८ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६७ हजार २८० मतसहित दशौँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् । अहिलेसम्म एक करोड चार लाख चार हजार ७६६ मत गनिएको छ ।
निर्वाचन आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय मान्यता प्राप्त दल बनेका छन् ।
राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत (थ्रेसहोल्ड) कटाउनुपर्छ। एकिन हिसाब आउन बाँकी रहे पनि समानुपातिक मतगणना अन्तिम चरणमा पुगिसक्दा ३ लाख १७/१८ हजार मत थ्रेसहोल्ड सीमा हुने आकलन गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। अब बढीमा डेढ लाख मत गन्न बाँकी भएको अनुमान उनले गरे।
अब माथि उल्लिखित सात पार्टीबाहेक थप दलले थ्रेसहोल्ड कटाउने सम्भावना कम देखिएको छ। चमत्कार भयो भने नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड पार गर्न सक्ला, अन्यथा अरू दलको सम्भावना देखिँदैन। थ्रेसहोल्ड कटाउन नसकेका दलले ल्याएका समानुपातिक मत गणना नगरिने भएकाले खेर जान्छ।
राष्ट्रिय दल बनेका सात दलमध्ये प्रतिनिधिसभा प्रत्यक्षतर्फ कांग्रेसले ५५, एमालेले ४४, माओवादी केन्द्रले १७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ७ र जनमत पार्टीले १ सिट जितेका छन्।
