काठमाडौं – स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना नसकिँदै कांग्रेस उप-सभापति धनराज गुरुङ विजयी भएका छन् । ७० हजार १९१ मतमध्ये ६८ हजार ५ सय गणना हुँदा धनराजले पाँच हजार भन्दा बढी मतको अग्रता लिएका छन् ।
२ हजार मत गन्न बाँकी रहँदा ५ हजारले अग्रता लिएपछि गुरुङको विजय जुलुस शुरु भएको छ । गुरुङले ३० हजार ९६८ मत पाएका छन् भने एमालेकी पद्मा अर्यालले २५ हजार २०३ मत पाएकी छन् । प्रदेश २ मा पनि कांग्रेसकै महेश भट्टराईको जित निश्चित भएको छ ।
उता, प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । बुधबार बेलुकी ६ः३० बजेदेखि सुरु भएको मतगणना अहिले पनि जारी छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा कांग्रेस उमेदवार पाण्डेले १७ हजार ८५५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले १३ हजार २९७ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा ‘क’मा एकीकृत समाजवादीका उमेदवार नरेश शाहीले नौ हजार ३३० मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमाले उमेदवार बलदेव रेग्मीले आठ हजार एक मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका कर्णबहादुर विकले एक हजार ३० मत पाएका छन् ।
यस्तै, प्रदेशसभा ‘ख’मा कांग्रेसका उमेदवार पदमबहादुर शाहीले १० हजार ९७७ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमालेका उमेदवार लालबहादुर थापाले आठ हजार ६४० मत प्राप्त गरेका छन् ।
त्यस्तै, दोलखामा प्रतिनिधि सभातर्फको २७,४१७ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीको अग्रता कायमै छ।
उनले नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीलाई १,०८० मतले पछि पारेका छन्। माओवादीका कार्कीले १२,४९० मत पाएका छन् भने एमालेका शिवाकोटीको ११,४९० मत रहेको छ।
यसैबीच दोलखा प्रदेशसभा (क)तर्फ भने नेपाली काँग्रेसका कुन्दनराज काफ्लेले शुरुवातीदेखि नै अग्रता लिएका छन्। शुरुबाटै अग्रता लिएका काफ्लेले एमालेका नरबहादुर श्रेष्ठलाई १,४५८ मतले पछि पारेका छन्। काफ्लेले १०,६६९ मत प्राप्त गरेका छन् भने श्रेष्ठको ९,२११ मत छ।
प्रदेशसभा (क)तर्फ २२,५५६ मत गणना भएको छ। प्रदेशसभा (ख) तर्फ नेकपा एमालेका भरतबहादुर केसीले अग्रता लिएका छन्। शुरुवाती चरणदेखि काँग्रेसले अग्रता लिए पनि पछिल्लो मतपरिणाम अनुसार एमालेका केसीले अग्रता लिएका छन्। २७,४८१ मत गणना हुँदा केसी १४४ मतले अघि छन्। केसीले १२,३३७ मत पाएका छन् भने कांग्रेसका बर्मा लामाले १२,२२० मत पाए।
