काठमाडौं – काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएको छ। नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको छ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई सच्याउन निर्माता तयार नभएको भन्दै मेयर बालेन शाहले फिल्म रोक्न निर्देशन दिएका हुन्।
यद्यपि फिल्म हल बन्द गराउने भन्ने विषय भने महानगरको अधिकार क्षेत्रभित्र पर्दैन। तैपनि नेपालविरुद्ध सांस्कृतिक अतिक्रमण भएको भन्दै मेयर शाहले बिहीबार फेसबुक स्ट्याटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए।
मेयर बालेनले ‘संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको’ उल्लेख गर्दै बन्द गराउने चेतावनी दिएका छन्।
उत्त फिल्मको यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिने उनको भनाइ छ। सो फिल्मबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा गम्भीर ध्यानाकर्षण भएको बालेनले जनाएका छन्।
उनले भनेका छन्, ‘‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ।’’
मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने महानगरले जनाएको छ। काठमाडौं महानगरभित्र ३२ वडा छन्। जहाँ १७ फिल्म हल छन्।
फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले भने सच्चाउन भन्दा उल्टै विवादास्पद अभिव्यक्ति दिएका छन्। भारतीय टेलिभिजनमा अन्तरवार्ता दिँदै सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन्।