कैलास–मानसरोवर : आत्माको एउटा अंश त्यहीँ छोडेर फर्किएको यात्रा (तस्वीरहरू)

भनिन्छ, कैलास पर्वत कसैले घुम्न जाने रहर गर्दैमा पुगिने ठाउँ होइन; जबसम्म देवका देव महादेवको ‘बुलावट’ (आह्वान) हुँदैन, तबसम्म त्यहाँ पुग्न असम्भव हुन्छ। कैलास–मानसरोवरको यात्रा केवल भूगोलको भ्रमण मात्र होइन, यो जीवनकै सबैभन्दा महत्वपूर्ण आध्यात्मिक र मानसिक रूपान्तरणको यात्रा हो। दुर्गम बाटो, प्रतिकूल मौसम र अनौठो भौगोलिक संरचनाबीच गरिने यो यात्रा हरेक यात्रीका लागि जीवनभरको अमूल्य स्मृति बनेर रहन्छ।

तिब्बती पठारको त्यो दुर्गम, रहस्यमयी र अलौकिक भूमिबाट भर्खरै फर्किए पनि मेरो मन, मस्तिष्क र आत्मा अझै त्यहीँ कैलासको काखमै घुमिरहेको अनुभूति भइरहेको छ। यात्रा सकिएर घर आइपुग्दा शरीर थाकेको छ, तर मनमा एउटा अभूतपूर्व शान्ति र ऊर्जा भरिएको छ। मानसरोवरको चिसो पानी र कैलासको विशालता अझै पनि आँखाअगाडि झल्झली नाचिरहेका छन्।

मानसरोवरको पहिलो दर्शन : मनको शून्यता

काठमाडौँबाट सुरु भएको हाम्रो यात्रा केरुङ नाका हुँदै तिब्बतका उबडखाबड र विशाल फाँटहरू पार गर्दै अघि बढ्यो। उचाइ बढ्दै जाँदा अक्सिजनको कमीले शरीर भारी भइरहेको थियो। तर, जब अचानक आँखाअगाडि निलो र कञ्चन मानसरोवर ताल देखापर्‍यो, शरीरको सम्पूर्ण थकान र सास्ती एकैक्षणमा हरायो।

ब्रह्माको मनबाट सिर्जित भनिने त्यो मानसरोवरको नीलो पानीमा सूर्यका किरणहरू ठोक्किँदा निस्किएको चमक अद्भुत थियो। टाढा पृष्ठभूमिमा चाँदीझैँ टल्किएको कैलास पर्वत देख्दा आँखाहरू खुसीले रसाए। मानसरोवरको चिसो पानी हातमा लिएर शिरमा चढाउँदा र जल अर्पण गर्दा भित्रैदेखि एउटा नयाँ ऊर्जा सञ्चार भएको महसुस भयो।छेउमै रहेको अशान्त राक्षस तालको रहस्यमयी स्वरूपले जीवन र जगतका दुई विपरीत पक्षलाई मौन रूपमा बुझाइरहेको जस्तो लाग्थ्यो।

कोरा (परिक्रमा) को चुनौती : आस्थाको कडा परीक्षा

यात्राको सबैभन्दा कठिन र महत्वपूर्ण भाग थियो— कैलास पर्वतको ५२ किलोमिटर लामो परिक्रमा (कोरा)।दार्चेनबाट सुरु भएको पैदल यात्राको पहिलो दिन यमद्वार पुग्दा मनमा वैराग्य र श्रद्धाको मिश्रित भावना जाग्यो। यमद्वार पार गरेपछि कैलासको पश्चिम मोहडाको दर्शन भयो। दार्चेनबाट देरापुक पुग्दा कैलासको उत्तरी मोहडाको मनमोहक दृश्यले मन मात्र होइन, हिँडाइको थकानले थाकेको शरीरलाई पनि प्रफुल्ल बनायो।

साँझको समयमा चाँदीझैँ टलक्क टल्किएको कैलास देख्दा लाग्यो— साक्षात् भगवान शिव अगाडि उभिनुभएको छ।भोलिपल्ट बिहान सूर्योदयसँगै सुनझैँ टल्किने कैलासको दर्शन गर्ने प्रतीक्षामा थिएँ। तर देरापुकको अक्सिजनको कमीले शरीर असहज भयो। रातभर निन्द्रा परेन। छटपटीले तन्ना मात्र खुम्चिएन, मन पनि केही खुम्चियो।

झोलामा केरुङबाट किनेको अक्सिजन थियो। केही पटक प्रयोग गरेपछि सासप्रश्वास सहज भयो। बिहान करिब पाँच बजे ‘गोल्डेन कैलाश’ हेर्न पाइला अघि बढे। कैलासबाट आएको चिसो सिरेटोलाई बेवास्ता गर्दै सूर्योदयको प्रतीक्षामा उभिएको मलाई एउटा डरले सताइरहेको थियो— कतै बादलले कैलासलाई ढाकिदिने त होइन?अन्ततः देवका देव महादेवको कृपाले कैलासमा परेको सुनौलो किरणको दृश्य देख्ने अवसर मिल्यो। त्यो क्षण यात्राकै सबैभन्दा सुनौलो क्षण बन्यो।

डोल्मा ला पास : सहनशीलताको अन्तिम परीक्षा

दोस्रो दिनको यात्रा मेरो जीवनकै सबैभन्दा कठिन परीक्षा बन्यो। ५,६३० मिटरको उचाइमा रहेको डोल्मा ला पास पार गर्नु सामान्य कुरा थिएन।प्रत्येक पाइला चाल्दा अक्सिजनको कमी महसुस हुन्थ्यो। चिसो हावाले अनुहार काटेजस्तो गर्थ्यो र खुट्टा ढुङ्गाझैँ भारी भएका थिए। लाग्थ्यो— अब एक कदम पनि अघि बढ्न सकिँदैन।

साथीहरू डोल्मा ला पासको आधा उकालो पार गरिसकेका थिए, तर मेरा पाइला काँपिरहेका थिए। एक्लै उकालो चढ्ने आँट आएन। पछाडि रहेका साथीहरूलाई कुरेर मात्र अघि बढ्ने निर्णय गरेँ र थकित शरीरलाई ढुङ्गामाथि विश्राम गर्न दिएँ।करिब आधा घण्टापछि साथीहरू आइपुगे। लामो सास फेरें। मनको डर हट्यो। हराएको साहस फेरि फर्कियो। अब यो पास पार गर्ने हिम्मत जुट्यो।पूरै यात्राभर ओठमा ‘ॐ नमः शिवाय’ को मन्त्र र मनमा भगवान शिवको स्मरण थियो। बाटोमा देखिने बौद्ध धर्मावलम्बीहरूको लुङता (रङ्गीचङ्गी ध्वजापताका) र उनीहरूको कठिन साष्टाङ्ग प्रणामले निरन्तर अगाडि बढ्ने प्रेरणा दिइरह्यो।

जब डोल्मा ला पासको उचाइमा पुगेर तल रहेको गौरी कुण्डलाई नियालेँ, तब महसुस भयो— कठिनाइको पारि नै साँचो आनन्द लुकेको हुँदो रहेछ।त्यसपछिको ओरालो बाटो पार गर्दै जुथुलपुक पुग्दा शरीर थाकेर लखतरान भए पनि मनले विजय हासिल गरिसकेको थियो।

परिक्रमाको समापन र आत्मिक अनुभूति

तेस्रो दिन जुथुलपुकबाट दार्चेन फर्किँदा समथर र केही सहज बाटो हुँदै महापरिक्रमा पूरा भयो। आफूले आफैँलाई जितेको त्यो अनुभव वास्तवमै अद्भुत थियो।एक फोटोग्राफरको नजरबाट हेर्दा कैलास यात्रा एउटा छुट्टै स्वर्ग थियो। त्यहाँको प्राकृतिक प्रकाश, छिनछिनमा बदलिने मौसम, हिउँका ढिस्काहरू र विशाल नाङ्गा पहाडहरूको बनावटले मलाई स्तब्ध बनायो।

जब सूर्यको पहिलो किरण कैलासको चुचुरोमा पर्छ र त्यो ‘सुनौलो कैलास’ मा परिणत हुन्छ, त्यो दृश्य कुनै चमत्कारिक चित्रभन्दा कम लाग्दैन। मानौँ प्रकृतिले स्वयं महादेवको आरती गरिरहेकी हो।

मैले ती दृश्यहरू क्यामेरामा मात्र होइन, जीवनभरका लागि स्मृतिमा कैद गरेर ल्याएको छु। यो यात्रा केवल एउटा भौगोलिक दूरी पार गर्नु मात्र थिएन; यो आफ्नै भित्री अहंकारलाई पगालेर आएको एउटा आध्यात्मिक रूपान्तरण थियो।त्यो शून्य र शान्त हिमालको अगाडि उभिएपछि महसुस भयो— हामी मानिसहरू कति साना छौँ, र हाम्रा सांसारिक घमण्डहरू कति निरर्थक छन्।

क्यामेराका मेमोरी कार्डहरू तस्बिरले भरिएका छन् भने मन महादेवको भक्तिले। भर्खरै फर्किएको यो शरीर काठमाडौँमा भए पनि, मेरो आत्माको एउटा अंश अझै पनि त्यहीँ डोल्मा ला पासको चिसो हावा र मानसरोवरको शान्त लहरमै छोडेर आएको छु। यो यात्रा मेरो जीवनको सबैभन्दा गौरवमय र अविस्मरणीय अध्याय बनेर रहनेछ।

हर हर महादेव!

         

सिफारिस

कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्डबाट प्रदीपराज वन्त सम्मानित

काठमाडौं - राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएका...

हर्क साम्पाङको चालक अनुमति पत्र स्वतः रद्द, छानबिन गर्दै प्रहरी

काठमाडौं - प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) रद्द भइसकेको देखिएको छ। यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख परीक्षण गर्दा उनले २०७१...

रास्वपाले महाधिवेशन:  गगन र केपीलाई विशिष्ट अतिथिको निमन्त्रणा

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७–९ गते चितवन मा हुने महाधिवेशनका लागि नेपाली कांग्रेसका सभापति गगन थापा र एमालेका अध्यक्ष...

भर्खरै

हर्क साम्पाङको चालक अनुमति पत्र स्वतः रद्द, छानबिन गर्दै प्रहरी

काठमाडौं - प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति...

रास्वपाले महाधिवेशन:  गगन र केपीलाई विशिष्ट अतिथिको निमन्त्रणा

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार...

१४ बुँदे अमेरिका–इरान समझदारी पत्रमा के- के छ ?

काठमाडौँ - इरान र अमेरिकाबिच भएको प्रारम्भिक सम्झौताका १४–बुँदे...

जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, ६ असारमा भोटो देखाइने (तस्वीरहरू)

रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत बुधबार रथलाई लगनखेलको थहिटी टोलबाट...

शहीद परिवारले पाए प्राधिकरणमा जागिर, कुलमान घिसिङ खुशी

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी...

राष्ट्रिय सेवा दलको तालिम देशभर शुभारम्भ, ६ हजार ६३० विद्यार्थी सहभागी

काठमाडौं — राष्ट्रिय सेवा दलले देशभरका २२१ विद्यालयमा अध्ययनरत ६...

धेरै पढिएको