काभ्रेको बेथानचोक गाउँपालिका–३ नारायणस्थान डाँडामा घुम्न गएका एक युवाको भीरबाट लडेर मृत्यु भएको छ।
शनिबार राति २ बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लड्दा धुलिखेल नगरपालिका– ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए। रिजाल धुलिखेल नगरपालिका–४ केयुको सूचना प्रविधिमा कार्यरत थिए।
शौचालय जाने क्रममा चिप्लेर भिरबाट करिब छ÷सात सय मिटर तल खसेर अड्केको अवस्थामा प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उनको शव निकालेको हो। शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ।
बेथानचोक नारायणस्थान घुम्नका लागि चार जना युवाको टोली शुक्रबार राति त्यहाँ पुगेको थियो। राति शौचालय जाने क्रममा घटना भएको प्रहरीले जनाएको छ।
