काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताएका छन् । सत्तारुढ एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले अहिलेको अवस्थामा सरकार टिकाइराख्न कुनै पक्षसँग पनि अनुचित सम्झौता नगर्ने बताएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकपछि प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै परराष्ट्रमन्त्री रहेका एमाले प्रवक्ता ज्ञवालीले भने, ‘बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार टिकाउन अनुचित सम्झौता गर्ने छैनौं, जनताको भावनाको विपरीतका काम गर्ने छैनौं भन्नुभएको छ । हामीलाई फेरि थप घेराबन्दी गरियो भने थप शक्तिका साथ पुनस्थापित हुनेछौं भन्नुभएको छ ।’
एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीले एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताएको जानकारी दिए । बैठकमा प्रधानमन्त्रीले भनेका कुरा उल्लेख गर्दै उनले भने, ‘हामी प्रतिपक्षमा बस्न पनि अभ्यस्त छौं, २०४८ सालयता पटक-पटक प्रतिपक्षमा बसेका छौं भन्नुभयो । आगामी दिनमा सबै दल एकातिर लागेर हट्नुपरे पनि जनताका बीचमा बस्छौ, अझै जनमुखी भएर अगाडि बढ्छौं भन्नुभयो ।’
