पोखरा- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान समयको गठबन्धनजस्तो गठबन्धन आफूहरुले नगर्ने बताएका छन्। आइतबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
एमाले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन गरेर निर्वाचन जान कत्तिको तयार छ? भनेर गरिएको प्रश्नमा उनले एमालेको नीतिगत नेतृत्वमा उनीहरु आए सहकार्य हुने बताए।
उनले भने, ‘हामी सहकार्यका लागि स्वागत गर्छौं। नीति अन्तर्गतको ध्रुवीकरण हामीले सधैं स्वागत गर्छौं।’ उनले अहिलेको जस्तो नीति नमिल्ने तर, चुनावका लागि गठबन्धन गर्ने कुरामा एमालेको विश्वास नभएको बताए।
त्यस्तै, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन वामपन्थी राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
कांग्रेसको पुच्छर बनेर हिँड्ने, अनि वामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने अध्यक्ष ओलीको भनाइ थियो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी एकताका लागि ओलीलाई आग्रह गरेका थिए ।
त्यसको जवाफ दिँदै नेता ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर आएमात्रै वामपन्थी दलहरूबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने सर्त अघि सारेका थिए ।
अध्यक्ष ओलीले कम्युनिस्ट नेतृत्वको सरकार ढालेर हिँड्नेहरू वामपन्थी हुनै नसक्ने जिकीर गर्दै एकताका लागि आफू भने तयार रहेको पटकपटक बताए ।
‘नेपालमा वामपन्थी पार्टीहरू छन् भने कांग्रेसका पछि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्दछु । चौंरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर भएर हिँड्ने अनि वामपन्थी पार्टी भनेर हुन्छ ? खै, वामपन्थी पार्टी ? कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरू वामपन्थी ? म आग्रह गर्न चाहन्छु–कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो छोडिदिऊँ । एमालेसँग मिलेर कांग्रेस विरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं,’ अध्यक्ष ओलीले भने ।
ओलीले नेपालको इतिहासमै सबैभन्दा बढी मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । २००७ सादेखि २०१२ सालसम्म पनि नेपालको राष्ट्रियतामाथि ठूलै प्रहार गरेको उल्लेख गर्दै उनले त्यसयता वर्तमान कांग्रेस नेतृत्वको सरकारले पनि मुलुकको राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए ।
अध्यक्ष ओलीले भने, ‘बनावटी कुराले राष्ट्रहितको संरक्षण र सम्वर्द्धन गर्न सकिँदैन । बनावटी कुरा गर्यो भने अहिलेको सरकारको हालत हुन्छ । असंलग्न भन्दै गर्यो, ढल्किन हुन्न भन्दै गर्यो, पूरै ढल्क्यो । अहिलेकै सरकारको हालत हुन्छ क्या । नेपालको विदेशी नीति २००७ देखि २०१२ सालसम्म धेरै तल गयो । त्यसपछि बढ्दै घट्दै आयो होला । सात सालपछि सम्झौता कस कसले गरे, केके गरे ? नेपाली कांग्रेसका नेताहरूलाई सम्झौताबारे थाहा पनि छैन होला ।’
