काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको शल्यक्रिया गरिएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी आरजु सोमबार सामाजिक सञ्जालमार्फत दिल्लीस्थित म्याक्स अस्पतालमा आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएका हुन् ।
तर केको शल्यक्रिया गरिएको भन्ने खुलाएकी छैनन् । निकटवर्तीहरुका अनुसार आरजुले पाठेघरको मुखको क्यान्सरको आशंकामा परीक्षण गराए पनि पुष्टि भएन ।
तर, चिकित्सकले पाठेघर निकाल्न उपयुक्त हुने सुझाव दिएपछि पाठेघर निकालिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
केही समययता आरजुले पटकपटक दिल्ली भ्रमण गरेकी थिइन । उनको भ्रमणलाई लिएर बिभिन्न प्रश्न उठिरहेका बेला उनको शल्यक्रियाको खवर बाहिर आएको हो ।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस केन्द्रीय सदस्य आरजुबीच दिल्लीस्थित नेपाली दूतावासमा भेट पनि भएको थियो।
यो भेटबारे प्रचण्डले स्वदेश फर्केपछि आरजु उपचारका क्रममा रहेको र दूतावासमा आफ्नो भेट भएको बताएका थिए। आरजुलाई आफूले भेटका क्रममा स्वास्थ्यलाभ कामना गरेको प्रचण्डको भनाइ थियो।
प्रचण्ड र आरजुबीच दिल्लीमा भेटवार्ता भएका तस्बिर सार्वजनिक भएपछि नेपालको भावी राजनीतिबारे विभिन्न कोणबाट छलफल भएको दाबीसमेत भएको थियो। तर प्रचण्डले भने यो कुरा अस्वीकार गरेका थिए।

