एमाले नेता घनश्याम भुसालले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्। यसअघि उनले टिकट पाउने कि नपाउने टुंगो नभएकामा अब भने नपाउने पक्का भएको स्रोतले बताएको छ।
एमालेनिकट स्रोतका अनुसार भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ मा राप्रपाका दिपक बोहोराले टिकट पाएका छन्। यो क्षेत्रमा एमालेले राप्रपालाई सघाउनेछ।
२०७४ सालको निर्वाचनमा बोहोरालाई भुसालले हराएका थिए। बोहोरा कांग्रेसको समर्थनमा राप्रपाका उम्मेदवार थिए भने भुसाल वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार थिए।
एमालेको नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका भुसाल दसौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए। आफूले सार्वजनिक गरेको सूचीलाई चुनौती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली भुसालप्रति अनुदार बन्दै आएका छन्।
ओलीले आफ्ना विरूद्धमा अध्यक्ष उठेका भीम रावल, भुसाल लगायतलाई भोट नहाल्न उर्दी नै जारी गरेका थिए।एमालेभित्र वैचारिक नेता भनेर चिनिने भुसालको टिकट राजतन्त्र पक्षधर पार्टी राप्रपाका बोहोराको हात लागेको छ।
अर्का नेता सुरेन्द्र पाण्डेले भने अहिलेसम्म टिकट पाउने कि नपाउने भन्नेबारे टुंगो लागेको छैन। चितवनमा एमाले नेता कृष्णभक्त पोखरेलले प्रतिनिधि सभा उम्मेदवारको टिकट पाउँदा पाण्डेको भने टुंगो नलागेको हो।
पोखरेलले चितवन क्षेत्र नम्बर २ बाट टिकट पाएका छन्। पाण्डेको भने चितवन क्षेत्र नम्बर १ हो। उनी २०७० र २०७४ सालमा सोही क्षेत्रबाट विजयी भएका थिए।
स्रोतका अनुसार चितवन क्षेत्र नम्बर १ मा एमाले अध्यक्ष केपी ओलीले जे एन थपलियालाई टिकट दिन चाहेका छन्।
एमालेभित्र अन्तरसंघर्ष हुदा पाण्डे माधव नेपालनिकट थिए। माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी गठन गर्ने बेलामा मात्र पाण्डेले ओलीलाई साथ दिएका हुन्। नेकपाकालीन अवस्थामा समेत पाण्डे ओलीका आलोचक थिए।
माधव नेपाललाई साथ नदिइकन एमालेमा रहेपछि भने पाण्डेले ओलीका हरेक कदमको बचाउ गर्दै आएका छन्। पछिल्लो समय पाण्डेले सार्वजनिक रूपमै ओलीको प्रशंसा गर्न थालेका थिए। दसौं महाधिवेशनमा समेत ओलीले पाण्डेलाई उपाध्यक्ष बनाएका थिए।
