राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ बाट उम्मेदवार बन्ने भएका छन्। उनी चितवन–२ बाट उम्मेदवारी दर्ता गराउन लागेको उनका स्वकिय सचिव राजन अर्यालले जानकारी दिए।
अर्यालका अनुसार लामिछाने मनोनय दर्ताका लागि चितवन पुगिसकेका छन्। यसअघि लामिछानेको चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने चर्चा चलेको थियो।
‘उहाँ चितवन–२ बाट उठ्ने हुनुभएको छ,’ स्वकिय सचिव अर्यालले भने, ‘उहाँ मनोनयन दर्ताका लागि चितवन पुगिसक्नुभएको छ।’
उम्मेदवारीको टुंगो लाग्नुअघि लामिछाने र उनका सहयोगीहरूले नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्तासँग पनि छलफल गरेका थिए।
स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवारीलाई पार्टीले सहयोग गरेपछि चितवन कांग्रेसभित्र ठूलो असन्तुष्टि थियो।
उनीहरूले गठबन्धनका उम्मेदवार रेनु दाहालविरूद्ध पुराना नेता जगन्नाथ पौडेललाई उम्मेदवार बनाएका थिए। पौडेलले सन्तोषजनक भोट ल्याएपछि हौसिएको कांग्रेसको ‘भुइँकटहर समूह’ले प्रतिनिधिसभा सदस्यमा पनि पौडेललाई उठाउने भएको छ।
पौडेल चितवन-३ बाट उठ्दैछन्। रविले क्षेत्र नम्बर २ का असन्तुष्ट कांग्रेस कार्यकर्ताको मत तान्ने प्रयास गरेका छन्। नेपाली कांग्रेसमा क्षेत्र नम्बर २ बाट जिल्ला सभापति राजेश्वर खनाल र पूर्वसभापति जीतनारायण श्रेष्ठले पनि आवेदन दिएका थिए। तर पार्टीले नेता उमेश श्रेष्ठलाई टिकट दियो।
जिल्लामा भिजेका नेतालाई टिकट नदिएकोमा स्थानीय कार्यकर्ता असन्तुष्ट छन्। रविले उनीहरूबाट पनि भोटको आशा राखेका छन्।
‘हामीलाई त पार्टीले कारबाही गरेको छ, त्यसैले अहिले कुन पार्टीको भन्ने छैन,’ स्थानीय निर्वाचनको समयमा कांग्रेसको कारबाहीमा परेका युवा नेता आनन्द राउतले भने, ‘गठबन्धन बाहेकका जुन कुनै पार्टीलाई सहयोग गर्न सकिन्छ।’
उनले स्वतन्त्र उम्मेदवारहरूलाई पनि सहयोग सकिने बताए। ‘रवि लामिछानेलाई पनि सहयोग गर्न सकिन्छ तर अौपचारिक छलफल भएको जानकारी मलाई छैन,’ उनले भने, ‘पहिले उम्मेदवारी दर्ता होस् त्यसपछि छलफल गर्छौं।’
