काठमाडौं – कानूनमन्त्री गोविन्द बन्दीले पदबाट राजीनामा दिएका छन् । सांसद सदस्य नरहेका व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नमिल्ने भएकाले उनले राजीनामा दिएका हुन् ।
राजीनामा दिनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रतिनिधिसभा नरहेको र आफू पनि सांसद नभएको भन्दै राजीनामा नदिएर चुनावसम्म मन्त्री रहन सकिने बताएका थिए ।
तर, बन्दीले नैतिकताको पनि कुरा हुने भन्दै राजीनामा दिएको स्रोतले जनाएको छ ।
उनलाई संक्रमणकालीन न्याय लगायत अन्य कानुनी विषय मिलाउने भन्दै सरकारमा सहभागी गराइएको थियो। बन्दीले सातै प्रदेशमा संक्रमणकालीन न्याय सम्बन्धी ऐनको मस्यौदा छलफल गराउँदै संसद्सम्म पर्याएका नि थिए। तर, प्रतिनिधि सभामा पुगेको विधेयकमा प्रमुख प्रतिपक्षसहित अन्तर्राष्ट्रिय रुपमा आलोचना भएपछि समितिमा पठाइएको थियो।
प्रतिनिधि सभाको मानव अधिकार समितिमा पुगेको विधेयकमा सत्तारुढ दल र एमालेकाबीचमा कुरा मिल्न नसकेपछि अलपत्र भएको थियो। त्यस्तै, उनले नागरिकता सम्बन्धी विधेयक पनि संसद्मा पुर्याएका थिए। उक्त विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको छ।
उनले न्याय परिषद्को सदस्यको रुपमा भने केही काम गरे। न्यायाधीश नियुक्तीको मापदण्डदेखि परिषद्मा परेका उजुरीहरुमाथि कारबाही गर्ने काम सुरु गराएका थिए।
