काठमाडौं – सत्तारुढ गठबन्धनले गठबन्धनविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन २० घन्टाको समय दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।
‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ,’ उनीहरुको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
शीर्ष नेताले भोलि दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट निष्काशन गर्ने चेतावनी पनि दिएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्काशन गर्ने व्यहोरा अवगत गराइन्छ ।’
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्ता गठबन्धनले तालमेल गरेर उम्मेदवारी दिएका छन्। तर कतिपय क्षेत्रमा विभिन्न दलबाट बागी उम्मेदवारी परेका छन्।
त्यस्तै, जसपाका मन्त्रीहरुको राजीनामा मागिएको छ । जसपाका चार मन्त्रीले आजै राजनीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्ने जनाइएको छ। शीर्ष नेताहरुबीच आज जसपाका मन्त्री हटाउने की विना विभागीय बनाउनेबारे छलफल भएको थियो ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव मन्त्री छन् । उनीहरूलाई जसपाले गत असारमा सरकारमा पठाएको हो ।
जसपाले सत्तागठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गर्न पुगेपछि मन्त्री हटाउन चौतर्फी दबाब बढेको थियो ।
बैठकमा आगामी मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषयमा पनि छलफल गरिने जनाइएको छ ।

