नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जना उम्मेदवारको नाम टुंग्याएको छ।
कांग्रेसले कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना (मधेश), बिष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत (बगमती), कृष्ण रोकाया (कर्णाली), नारायण दत्त भटट र बलदेव बोहरा (सुदुरपश्चिम), पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ (गण्डकी), बिष्णुदेवी सापकोटा (लुम्बिनी) लाई उम्मेदवार बनाउने निर्णय कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको हो।
परियार, श्रेष्ठ र सापकोटा शेखर कोइराला पक्षबाट उम्मेदवार बन्न लागेका हुन्। आगामी माघ ११ गते राष्ट्रियसभा २० स्थानका लागि हुने निर्वाचनको आज मनोनयन दर्ता हुँदैछ।
यसअघि दुईपटक झापाबाट चुनाव हारेका पूवमहामन्त्री सिटौलालाई अध्यक्ष बनाउने गरी राष्ट्रियसभामा लैजान लागेको चर्चा छ। मधेशबाट उम्मेदवार बन्न लागेका ढुंगाना पार्टीको केन्द्रीय सदस्य तथा अनुशासन समिति संयोजक हुन्।
पुडासैनी नेपाल महिला संघ काठमाडौँकी अध्यक्ष हुन् भने बस्नेत कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन्।
गण्डकीबाट उम्मेदवार छनोट भएका कांग्रेस श्रेष्ठ गण्डकी प्रदेशका महामन्त्री हुन् भने परियार तनहुँका हुन्।
सुदूरपश्चिमबाट उम्मेदवार बन्न लागेका भट्ट कांग्रेस कैलालीका सभापति हुन् भने बोहरा कांग्रेस कञ्चनपुरका पूर्वसभापति हुन्।
पार्टी निर्णयमा कांग्रेसका महामन्त्री गगनकुमार थापाले भने लिखितरुपमा फरक मत राखेका छन्।

