काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालप्रति लक्षित गर्दै पुष्पलाल प्रतिष्ठानलाई निजी सम्पत्तिझैं कब्जा गरेको आरोप लगाएका छन् ।
आज (बुधबार) सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । पुष्पलालले कहिल्यै पार्टी नछोडेको तर माधव नेपालले पार्टी छोडेपछि पनि पुष्पलाल प्रतिष्ठानलाई आफ्नो व्यक्तिगत सम्पत्ति जस्तो बनाएर कब्जा गरेको टिप्पणी गरे । उनले पुष्पलाल प्रतिष्ठानको सही संरक्षण र व्यवस्थापन एमालेले गर्नुपर्नेमा जोड दिए ।
‘पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । अनि कसैले त्यसलाई कब्जा गरेर बस्ने ? खेलो फड्को गर्दै माधव नेपाल जस्ता मान्छेहरु अध्यक्ष भए । पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नु पर्ने ठाउँमा निजी जस्तो । पुष्पलालजी कुद्नु भएको हो र पार्टीबाट ? माधव नेपाल पो कुद्नु भएको त । पुष्पलाल त कुद्नु भएको होइन नि । पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने ?’ उनले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले नेताहरुको नाममा प्रतिष्ठान, विद्यालयहरु खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनु पर्ने धारणा राखेका छन् । उनले प्रतिष्ठानहरु कसैलाई कब्जा गर्न नदिइने पनि बताए ।