काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ ।
यसअघि प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा चौधरीले कालापानी-लिपुलेक भारतको हो भनेका थिए । त्यही विषयलाई लिएर पार्टीले उनलाई तीनदिने स्पष्टीकरण सोधेको हो ।
‘…. तपाईंले लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ दावी पुग्छ उसको, दावी पुग्छ, भारतले लिन पाउँछ, …. (कालापानी र लिपुलेक) भारतको हो नि’ भन्नुभएको रहेँछ’ स्पष्टीकरण पत्रमा भनिएको छ ।
पार्टीका महासचिव घनश्याम भुसालद्वारा हस्ताक्षरित स्पष्टीकरणपत्रमा भनिएको छ, “अनेकौं तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अङ्ग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो ?”