काठमाडौं – नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा भर्ना खुलेको छ ।
प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २ सय ५६ जनाका लागि जागिर खुलेको हो ।
खुलातर्फ प्रहरी निरीक्षकमा ३५ र सहायक निरीक्षकमा १ सय ३८, अमर/अशक्त प्रहरी परिवारका लागि प्रहरी निरीक्षकमा एक र सहायक निरीक्षकमा पाँच, महिलातर्फ प्रहरी निरीक्षकमा ६ र सहायक निरीक्षकमा २३, आदिवासी जनजातीतर्फ प्रहरी निरीक्षकमा ९ र सहायक निरीक्षकमा ३६, मधेशी प्रहरी निरीक्षकमा ८ र सहायक निरीक्षकमा ३९, दलित, प्रहरी निरीक्षकमा ४ र सहायक निरीक्षकमा १७ तथा पिछडिएको क्षेत्रका लागि प्रहरी निरीक्षकमा १ र सहायक निरीक्षकमा ६ वटा आरक्षण कोटाको व्यवस्था गरिएको छ ।
पिछडिएको क्षेत्र भनेर अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला तोकिएको छ ।
प्रहरी मुख्यालयले शुक्रबार जारी गरेको सूचनामा दरखास्त दिने म्याद आगामी ३० भदौदेखि ३० असोजसम्म तोकिएको छ ।
प्रहरी निरीक्षकमा आवदेन इच्छुक आवेदकले काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, विराटनगर, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कोशी प्रदेश तालिम केन्द्र विराटनगर, मधेस प्रदेश तालिम केन्द्र जनकपुर, बागमती प्रदेश तालिम केन्द्र दुधौली, सिन्धुलीमा फाराम बुझाउन सकिने छ ।
यस्तै सहायक निरीक्षकका लागि गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज, बाँके), सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दियापल र काठमाण्डु उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जमा आवदेन दिन सकिनेछ ।