पार्टीभित्र एक पक्षले बहुमतीय आधारमा निर्णय गर्ने तयारी गरेको सूचना पाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीलाई फुटबाट बचाउने भूमिका खेल्न आग्रह गरेकी छन्।
बिहीबार शितल निवासमा प्रचण्डलाई बोलाएर राष्ट्रपति भण्डारीले दुईजना अध्यक्ष मिलेर जान र अहिले अल्पमत र बहुमतबाट कुनै पनि निर्णय नगर्न सुझाएको स्रोतले जनाएको छ। नेकपाको २० गतेको लागि सचिवालय बैठक बोलाइएको छ भने २१ गते स्थायी समिति बैठक तय भएको छ।
नौ–सदस्यीय सचिवालयमा बहुमत (पाँच जना) नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णय कार्यान्वयन नगरेको भन्दै पद छाड्नुपर्ने बताइहेका छन्। भदौ २६ गतेको निर्णय कार्यान्वयन नगरेको, पार्टी र सरकारका हरेक निर्णय एकलौटी गरेको भन्दै उनीसँग बहुमत नेताहरु असन्तुष्ट छन्।
हिजोको सचिवालय बैठकमा ओली उपस्थित नभएनपछि कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको औपचारिक बैठकले ओलीलाई अर्को बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
सचिवालय बैठक सुरु हुनु दुईदिन अघि राष्ट्रपति भण्डारीले प्रचण्ड र ओली दुबैसँग फरक फरक समयमा भेट गरेकी हुन्।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिउँसो भेट गरेकी भण्डारीले लगत्तै प्रचण्डलाई शितल निवास बोलाएर छलफल गरेकी हुन्।
प्रचण्डसँग एक घण्टा भएको छलफलमा सहमति कसरी गर्न सकिन्छ भनेर भण्डारीले जिज्ञासा राखेकी थिइन। जवाफमा प्रचण्डले पार्टी कमिटीमा छलफल गरेर निर्णयमा पुग्ने बताएको स्रोतले जनाएको छ।
‘पार्टीभित्रको विवाद र समाधानबारे राष्ट्रपति भण्डारीले जिज्ञासा राख्नुभएको थियो,’ स्रोतले भन्यो, ‘अध्यक्ष प्रचण्डले २० गतेको लागि तय भएको बैठकले एउटा निर्णय गर्ने जवाफ दिनुभएको छ।’
सचिवालयको बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्षबीच सहमति जुटाउनको लागि नेताहरुले सक्रियता देखाइरहेका बेला राष्ट्रपति भण्डारीले पनि चासो देखाएकी हुन।
