गएराती बुटवल स्थित मुख्य राजमार्गबाट पाँच ट्रक गोरु प्रहरीले बरामद गरेसँगै रातारात गोरु तस्करी हुने गरेको तथ्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गएराती करिब २ बजे प्रहरीले ५ ट्रकसहित एक सय २१ गोरु बरामद गरेको हो ।
प्रहरीले बारा निजगढ नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३६ का गणेश पौडेल, बारा जितपुर सिमरा नगरपालिका वडा नं.१६ बस्ने बर्ष ३८ का तिलक बहादुर जिम्बा, बारा निजगढ नगरपालिका ९ बस्ने बर्ष ५२ का शम्भु भट्टराई, मकवानपुर हेटौडा उपमहानगरपालिका १४ बस्ने बर्ष ३० का लक्ष्मण दनै र बारा निजगढ नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३२ नवराज कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पश्चिमतर्फबाट पूर्वतर्फ गोरु ओसार-पसार हुँदै छ भन्ने सूचनाको आधारमा बुटवल-६ अस्पताललाइनस्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले गोरु सहित ट्रक चालकसमेतलाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ आईरहेका ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ट्रकमा गोरु फेला परेका हुन् ।
प्रहरीका अनुसार ना ५ ख ५६५५ नं. को ट्रकमा २२ वटा, ना ८ ख ७३०२ नं.को ट्रकमा २५ वटा, बागमती प्रदेश ०३–००१ ख ०३३३ नं.को ट्रकमा २५ वटा, ना ६ ख ५७१२ नं.को ट्रकमा २३ वटा र ना ५ ख ७५३९ नं.को ट्रकमा २६ वटा गोरु फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार बाँकेको बैजनाथपुरबाट ल्याउँदै गरेका गोरु र ट्रक बुटवलमा प्रहरीले फेला पारेको हो । प्रहरीले ती ट्रकका चालकहरुलाई पक्राउ गरेको छ ।
चेक जाँचका क्रममा कागजातहरु समेत शंकास्पद देखिएको र उक्त ट्रकमा रहेका १ सय २१ गोरु तथा ट्रक चालक समेतलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागी पशु क्वारेन्टाईन भैरहवामा पठाईएको प्रहरीले जनाएको छ ।
